प्रसव पीडामा रहेकी सोलुखुम्बुकी महिलाको हवाइ उद्धार
बन्दाबन्दीले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको बिहीबार हवाई उद्धार गरि काठमाडौं ल्याइएको छ ।
सुत्केरी गराउन बिहीबार बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नम्बर ४ की ३० वर्षिया पुष्पकला राईको गर्भमा रहेको शिशुको अवस्था जटिल रहेको थाहा भयो ।
त्यो खबर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आए लगत्तै मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट राईलाई काठमाडौं ल्याइएको हो ।
उनको थापाथलीस्थित परोपकार प्रसुतीतथा स्त्री रोग अस्पतालमा उपचार भइरहेको छ । पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवन रक्षाका लागि काठमाडौं रिफर गरिएको केन्द्रका डा. आशिष आलोकले बताए ।
श्रीमतीसँगै काठमाडौं आएका पुष्पकलाका श्रीमान् परशुराम राइले भने, “सबैतिर बन्दको बेला तत्कालै हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गर्न पाएकोमा खुशी भएको छु, मन्त्रीज्यूको पहलले यो भएको हो । उहाँलाई धन्यवाद छ ।"
बन्दाबन्दी शुरु भएपछि यसअघि १५ चैतमा पनि खोटाङकी एक गर्भवतीलाई काठमाडौं ल्याइएको थियो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत यस मन्त्रालयले जटिल स्वास्थ्य अवस्थाका गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गर्दै आएको छ ।
हवाई उद्धार कार्यक्रम अन्तर्गत हालसम्म ९२ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।