समाचार विहीबार, चैत २०, २०७६

रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

हिमालखबर

रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि छिमेकी मुलुक चीनबाट स्वास्थ्य सामान खरीद गरेर ल्याउँदा भ्रष्टाचार भएको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित केही व्यक्ति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

स्वास्थ्य सामग्री खरीदको जिम्मा ओम्नी समूहलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी समूहका सञ्चालक विरूद्ध अख्तियारमा उजुरी दिएका हुन्।

"कोरोना महामारीले  विश्वब्यापी रूपमा गम्भीर संकटको रूप धारण गर्दै गएको अवस्थामा यस सम्बन्धमा पूर्ण रूपमा उदासिन भएर बस्नु नेपाल सरकार र यसका सम्बन्धित निकायहरुका लागि गम्भीर लापरवाहीको विषय थियो" त्रिपाठीले निवेदनमा भनेका छन् "यसबाट सम्बन्धित निकायका पदाधिकारीहरुको बदनियत प्रष्ट थियो।

विश्व स्वास्थ्य संगठनले महिनौं पहिले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको चेतावनी दिइसक्दा पनि नेपालले यस सम्बन्धमा आवश्यक पर्ने स्वास्थ्य उपकरणको आयात तर्फ कुनै चासो नदेखाउनुले पनि यो बदनियतलाई झन् पुष्टि प्रदान गरेको छ ।"

उनले हाल न्यूनतम स्वास्थ्य उपकरणको अभावले चिकित्सकहरु बिरामीको परीक्षण गर्न नसक्ने एवं कोरोनाको टेष्ट समेत हुन नसक्ने जटिल मानवीय संकटको अवस्था देखिएको भन्दै रक्षा र स्वास्थ्य मन्त्रीलगायत सबैलाई हिरासतमा लिएर कारवाही गर्न माग गरेका छन्।

"माथि उल्लेख गरिएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो पद तथा सार्वजनिक दायित्वहरुको दुरुपयोग गरी भ्रष्टाचारजन्य कसूर गरेकाले निजहरुले आफूविरुद्धकाे प्रमाण समेत मेटाउन सक्ने भएकोले अख्तियार दुरुपयोग आयोग ऐनको दफा १६, भ्रष्टाचार निवारण ऐन  को  दफा ३१  बमोजिम तत्काल  हिरासतमा लिई गम्भीर अनुसन्धान तथा तहकिकात गरी अख्तियार दुरुपयोग आयोग ऐनको दफा १८ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफादफा ३६ बमोजिम मुद्दा समेत दायर गरी पाऊँ " उनले निवेदनमा भनेका छन्।

त्रिपाठीले ईमेलबाट निवेदन पठाएको र उक्त ईमेल प्राप्त भएको जानकारी आफूलाई आइसकेको जानकारी हिमाललाई दिएका छन्।

प्रतिकृया दिनुहोस