बिरामीका नाउँमा एम्बुलेन्सको दुरुपयोग
नेपालमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउनको घोषणा गरी आवतजावतमा रोग लगाएको भएपनि मुगुमा भने लकडाउनको उल्लंघन गर्दै बिरामीको नाउँमा सुर्खेतदेखि १२ जना यात्रु बोकेर एक एम्बुलेन्स मुगु पुगेको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको नेपाल अर्बुद निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म बिरामीका नाममा सर्वसाधारण बोकेर ल्याएको हो।
भे१च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुईजना बिरामिको नाम चोरी गरेर मुगुका १२ जना सर्वसाधारणलाई सुर्खेतबाट मुगु पुर्याएको हो।
सुर्खेतदेखि उपचार गरेर सन्चो भई फर्किएका २ जना बिरामीको नामको बिरामी पुर्जा सुरक्षा चेकजाँचमा देखाउँदै त्यसलाई पास जस्तो गरेर अन्य यात्रु बोकेर उक्त एम्बुलेन्स बिहीबार मुगु पुगेको थियो।
मुगुका माननीयको सम्पर्कबाट मुगुमा बिरामी पठाउनु छ, भन्ने खबरका साथ एम्बुलेन्स भाडाका लागि पठाएको हुँ बीचमा मान्छे हालेको थाहा नभएको नेपाल अर्बुद निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताए ।
उनका अनुसार दुईजना बिरामी र दुईजना कुरुवाको लागि ३८ हजार भाडामा एम्बुलेन्स पठाइएको हो । त्यति धेरै मान्छे हालेको आफूलाई थाहा नभएको रावतले बताए ।
यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले भने, “एम्बुलेन्सले बिरामी बोक्ने हो । तर मान्छे ओसार्ने हैन । एम्बुलेन्सले मान्छे ल्याएर मुगु आएपनि बीचका चेकपोष्टले निगरानी राख्नुपर्ने हो, राखेनछन् ।” अब त्यसका बारेमा जाँचबुझ गर्ने प्रजिअ निरौलाले बताए ।
अच्युत राज भण्डारी, मुगु