सिमानामा अलपत्र नागरिकका बारेमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार
सर्वोच्च अदालतले सिमानामा अलपत्र परेका नागरिकलाई स्वदेश प्रवेशको मागसहित परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
विश्वभर कोरोनाभाइरसको महामारी फैलिएपछि भारतमा रोजगार गुमाएर बिचल्ली भएका नेपाली स्वदेश प्रवेशका लागि आएपनि सिमानामा बन्दाबन्दी भइसकेको भन्दै अनुमति नदिएपछि अलपत्र अवस्थामा छन्।
सीमामा नागरिक अलपत्र परेकाले स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुबै पक्षलाई अन्तरिम छलफलका २४ चैतका लागि अदालतमा हाजिर हुन भनेको छ। सरकारको हालसम्मको निर्णय अनुसार चैत २५ गतेसम्म बन्दाबन्दी नै छ।
भारतबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिक भारतसँग सिमाना जोडिएका नाकाहरू धारचुला, महाकाली, सुस्तालगायत ठाउँमा अलपत्र अवस्थामा छन्। कतिपय मानिसहरू भोकै अरूको देशमा मरिने भएपछि नदीमा पौडिएर सीमा पार गरेर स्वदेश फर्किएका छन्।