सत्तारुढ दल र मोर्चाबीच संशोधन दर्ता गराउने सहमति
आज सत्तारुढ दलहरु र मधेशी मोर्चाबीच भएको छलफलमा संविधान संशोधन प्रस्ताव छिट्टै दर्ता गराउने सहमति भएको छ ।
सीमांकन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व, नागरिकता लगायतका विषयमा अहिलेसम्म भएका छलफलका आधारमा समझदारी बनाएर चाँडै संसदमा संशोधन प्रस्ताव लैजाने सहमति भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
उनले संशोधनका अन्य प्राविधिक विषय समेत समेटेर चाँडै संशोधन प्रस्ताव दर्ता गरिने बताए पनि ती विषयमा कस्तो संशोधन आउने भन्ने चाहीँ थप छलफलपछि सरकारले टुंगो लगाउने बताए ।
बैठकमा प्रधानमन्त्री दाहालले नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउने र पूर्वका झापा, मोरङ र सुनसरी, पश्चिमका कैलाली र कञ्चनपुर गरी ५ वटा जिल्लालाई संघीय आयोगमार्फत् त्यसको विवाद टुंग्याउने बताएका थिए ।
प्रस्ताव संसदमा दुई दिनभित्र लैजाने निर्णय भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बताएका छन् ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव दर्ताको लागि मात्रै सहमित दिइएको भन्दै थपे, “प्रस्ताव कसरी दर्ता हुन्छ, त्यो हेरेर मात्रै हामी समर्थन वा विरोध गर्छौं, पहिले संशोधन दर्ता त होओस् ।”
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवंप कांग्रेस नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षमान पुन, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका राजकिशोर यादव, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।
प्रमुख प्रतिपक्षी एमालेको सहमति बेगर दर्ता गराइने प्रस्तावको सदन र सडक दुबै ठाउँबाट विरोध गरिने एमालेले यसअघि नै जनाइसकेको छ ।