सहकारीलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छ: मन्त्री अर्याल
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको परम्परागत ढाँचा परिवर्तन गरी आधुनिक प्रविधिमैत्री बनाउनुपर्ने बताएकी छिन् ।
६३औं सहकारी दिवसको अवसरमा शुभकामना दिंदै उनले संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्दै लैजानुपर्ने बताइन् ।
मन्त्री अर्यालले शुभकामनामा भनेकी छिन्, “सहकारीमार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरण सम्बन्धी आयोजना, उद्योग कलकारखाना सञ्चालन गर्नु आवश्यक छ । त्यसका लागि परम्परागत सहकारीको ढाँचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसँग जोड्नुपर्छ ।”
सहकारीको पहुँच नपुगेको दुर्गम स्थान र विपन्न वर्गलाई सहकारीताको माध्यमबाट स्वरोजगार बनाउँदै जीविकोपार्जनका आधारहरु बनाउनेतर्फ सरकार लागिरहेको मन्त्रीको सन्दशेमा भनिएको छ ।
६२ वर्ष अगाडि २० चैतमा स्थापना भएको बखान सहकारी नेपालको पहिलो सहकारी भएकाले सोही दिनलाई सहकारी दिवसको रुपमा मनाउने गरिएको छ ।
सहकारीको सञ्जाल व्यापक भएकाले सहकारीमा आवद्ध सबैले कोभिड १९ बाट सुरक्षित रहन चेतना फैलाउन पनि मन्त्री अर्यालले आग्रह गरेकी छिन्।