नाकामा हेल्थ डेस्क, स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिन
- सुरजकुमार भुजेल, थाहानगर, मकवानपुर
मकवानपुरको थाहा नगरपालिकाले कोरोना महामारीको रोकथामका लागि व्यवस्थित क्वारेन्टिनदेखि सीमामा हेल्थ डेस्क समेत स्थापना गरेको छ। नगरपालिकाको ४० लाख र अन्य नियका तथा दाताहरुबाट प्राप्त सहयोगबाट नगरपालिकाले कोरोना महामारी रोक्न व्यवस्थित प्रयास गरिरहेको मेयर लवशेर विष्टले बताए।
उनले भने, “हामी हरेक दिन कोषको मौज्दात रकम, प्राप्त भएको रकम, सामग्री र खर्च सार्वजनिक गर्छौं।” नगरपालिकाले मुटुको धड्कन, ज्वरो, प्रेसर, सुगर देखाउने डिजिटल मोनिटर सहितको पाँच वटा 'हाइ केयर रुम' बनाएको छ भने २० वटा नर्मल क्वारेन्टाइन बनाएको छ।
मेयर विष्ट भन्छन्, “क्वारेन्टिन कक्ष मान्छे थुन्ने ठाउँ होइन, अत्याधुनिक र सुविधासम्पन्न हुनुपर्छ। यस्तो क्वारेन्टिनमा बिरामी र चिकित्सकलाई खाना, नास्ता र चियाको व्यवस्था गरिएको छ।”
महामारी रोकथामका लागि नगरपालिकाले पाँच सदस्यीय छुट्टै सचिवालय बनाएको छ। नगरभर नौ वटा स्वास्थ्य संस्थामा समेत बिरामीको परीक्षण गरी दिउँसो पाँच बजेसम्म अपडेट गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले बन्दाबन्दीको अवधिमा काठमाडौंबाट हिंडेरै चन्द्रागिरीबाट घर फर्कने भएकाले चन्द्रागिरी र आग्राको भोर्लेमा हेल्थ डेस्क स्थापना गरेको छ। हेल्थ डेस्कले आगन्तुकको ट्राभल हिस्ट्री, स्वास्थ्य जाँच गर्ने गरेको छ।
नगरपालिकाले वटै वडाका सदस्यहरुलाई टोल–टोल निगरानी गर्ने जिम्मा दिएको छ। वडा सदस्यहरुले नयाँ मानिस र विदेशबाट आउने मानिस भेट्ने बित्तिकै परामर्श दिने र अवस्था हेरेर क्वारेन्टिनमा जान सुझाव दिने गरेका छन्।