समाचार विहीबार, चैत २०, २०७६

देश बाहिर नौ नेपालीमा कोरोना संक्रमण, दुई जनाको मृत्यु

हिमालखबर

देश बाहिर नौ नेपालीमा कोरोना संक्रमण, दुई जनाको मृत्यु
काेराेना संक्रमण देखिएका जिल्लाहरू

चीनको हुपेई प्रान्तको वुहानबाट फैलिएको कोरोना महामारीबाट विश्वभर नौ लाख ३५ हजार संक्रमित भएकोमा ४७ हजारको मृत्यु भइसकेको छ ।

संसारका २०३ मुलुकमा फैलिएको महामारीबाट नेपालमा पाँच जना संक्रमित भएका छन् । ती सवै विदेशबाट फर्किएका नागरिक हन् । संक्रमित मध्ये एक जनालाई निको भइसकेको छ ।

चीनबाट फर्किएको विद्यार्थीमा पहिलो संक्रमण देखिएको थियो । ती विद्यार्थीलाई निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुको उपचार भइरहेको छ ।

तर, देशभित्र भन्दा बाहिर धेरै नेपाली संक्रमित भएका छन् । विदेशमा संक्रमित भएकालाई स्वदेश नल्याउने सरकारले नीति लिएको छ । सम्बन्धित देशमै उपचार गराउन सरकारले आग्रह गरेको छ ।

देशबाहिर संक्रमित हुने मध्ये नेपाली मूलका दुई जनाको भने मृत्यु भइसकेको छ । १७ मार्चमा यूकेमा ६६ वर्षीय नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । पूर्व गोर्खा आर्मी नेपालीको यूकेमै मृत्यु भएको हो ।

अर्का ५० वर्षीय नेपालीको अमेरिकामा २४ मार्चमा मृत्यु भएको थियो । उनी पनि नेपाली मूलका नागरिक हुन् । यस बाहेकका चार मुलुकमा सात जना नेपाली कोरोनाबाट संक्रमित छन् ।

विभिन्न सञ्चार माध्यमहरुका अनुसार, अष्ट्रेलियामा एक, बहराइनमा तीन, पोर्चुगलमा एक र यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिन अगाडि मात्रै यूएई सरकारले दुई नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि गरेको थियो । ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएकोमा एक जनाको स्वास्थ्य रिपोर्ट पोजिटिभ देखिएको पोर्चुगल सरकारले जनाएको छ ।

बहराइनमा स्वास्थ्य परीक्षण गराउने नेपाली मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका र नदेखिएका सवै नेपालीलाई सम्बन्धित देशमै सुरक्षित बनेर रहन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्री प्रदीकुमार ज्ञवालीले नेपालमा रहेका विदेशीलाई नेपाल सरकारले सुरक्षा र उपचार गराउने तथा विदेशमा रहेका नेपालीलाई पनि उचित सुरक्षाको व्यवस्था गरिदिन कुटनीतिक पहलकदमी भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस