सरकारले ओम्नी समूहसँग गरेको सम्झौता रद्द, कालो सूचीमा राखिने
सरकारले कोरोनाभाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको बताएको छ।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा जानकारी गराइएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सोही मिडिया ब्रिफिङमा सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको बताएका छन् ।
महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा भने, "सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो, उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन । ओम्नीले अहिले १० प्रतिशत मात्रै सामना ल्याएको छ।'
उनले यो समूहले १८ प्रतिशत सामान मात्रै ल्याएको र बाँकी ल्याउन सक्ने कुनै सम्भावना नदेखिएको र प्रतवद्धता पनि नआएको जनाए ।
उनले बिहीबार नयाँ प्रक्रिया शुरु गरेर पाँच दिनभित्र ल्याउनसक्नेलाई दिने बताए।
विभागका महानिर्देशक श्रेष्ठले नयाँ खरिद प्रक्रिया तीन दिन मात्र समय दिएर भोलि आह्वान गर्ने निर्णय भएको बताएका छन् । उनले सस्तोमा सामान ल्याउन सक्ने सप्लायर्सहरुले निवेदन दिन पनि आह्वान गरेका छन् ।