सयौं किलोमिटर पैदलयात्रा गर्दै श्रमिकहरू घरतिर
देशमा बन्दाबन्दी गरिएपछि समस्यामा परेका श्रमिकहरु सयौं किलोमिटर हिंड्दै आफ्नो घरतिर फर्किरहेका छन् ।
काम गर्ने ठाउँमा बसिरहन कठिन भएपछि सास्ती सहँदै श्रमिकहरु घर फर्किरहेका छन् ।
बाराको आदर्श कोतवालका चन्द्र बैठा, सुरज पटेलसहित सातजना श्रमिक काठमाडौंबाट तीन दिन हिंडेर रौतहट आइपुगेका छन् ।
उनीहरु गरुडा र कटहरिया हुँदै बुधबार अबेरसम्म घर पुग्न सकिने आशा मनमा लिएर चर्को घाममा हिँडिरहेका छन् ।
काठमाडौंमा सानोतिनो काम गरेर जीविका गर्दै आएका उनीहरुलाई काठमाडौंमा बस्न मुस्किल भएपछि एउटा ट्रकमा बर्दीबाससम्म आएपछि त्यहाँबाट पैदलै हिंडेर घरतर्फ लागेका हुन् ।
रौतहटको ईशनाथ नगरपालिका ७ का हरिन्द्र साह कानु, महमद थारु, शेख जुमनसहितको पाँचजनाको समूह पनि काठमाडौंबाट हिंडेको चार दिन भइसक्यो ।
काठमाडौंमा श्रम गर्ने सातैजनालाई काम दिने ठेकेदार काम बन्द गरी हिंडेपछि अलपत्र भएर बस्न नसक्दा पैदलै घरतिर हिँडेका हुन् ।
चार दिनको पैदलयात्रा पछि बुधबार अबेरसम्म भए पनि घर पुग्ने आशा सबैमा रहेको छ ।
रौतहटकै फतुवा विजयपुरका चारजना श्रमिकहरु पनि विराटनगरबाट पैदलै आइपुगेका छन् चौथो दिन । विराटनगरमा उनीहरुले काम गर्ने उद्योग बन्द भएपछि एउटा कोठाको डेरामा बसिरहन मुस्किल भएकाले उनीहरु घरतिर लागेका हुन् ।
विराटनगरबाट पैदलै घरतिर हिँडेका उनीहरु पहिलो दिन विराटनगरबाट इटहरीसम्म आउँदा त्यहाँ एउटा तरकारी बोक्ने गाडीले कोशी पुलसम्म पुर्याइदिएको थियो । कोशी पुलबाट पैदलै हिंडेर तीन दिनमा चन्द्रपुर आइपुगेका चारैजनालाई बुधबार साँझसम्म घर पुग्न सकिने विश्वास छ ।
काठमाडौं, पोखरा, विराटनगर लगायतका शहरमा दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको काम ठप्प भएपछि जोखिम मोलेर उनीहरु हरेक दिन फर्किरहेका छन् ।
बाटोमा जहाँ पायो त्यहीँ रात बिताउने तथा जे पायो त्यही खाँदै श्रमिकहरुले कहालीलाग्दो यात्रा गरिरहेका छन् । कठिन यात्रा गर्दा बाटोमा डर लाग्ने र कसैलाई कुनै सहयोगको लागि भन्न झन् डराउनु पर्ने अवस्था रहेको फतुवा विजयपुरका एक श्रमिकले नाम उल्लेख नगरी दिन आग्रह गर्दै बताएका छन् ।
भाडाको एउटै कोठामा चार–पाँच जनासम्म दिन र रातभर कोच्चिएर बस्न नसक्ने अवस्था भएपछि श्रमिकहरु पलायन भएका हुन् ।
सञ्जय मित्र, रौतहट