कोभिड-१९ बुधबार, चैत १९, २०७६

कोरोनाको भेलमा अन्य रोगी बगाइँदै

हिमालखबर

कोरोनाको भेलमा अन्य रोगी बगाइँदै

- इन्द्र अर्याल

सन्तुलित आहारको अभावमा प्राय: नेपाली कि कुपोषण कि अधिक पोषणका कारण कुनै न कुनै रोगको शिकार छन्। जनसंख्या र रोगीको अनुपातमा देशैभरि अस्पताल, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण पर्याप्त छैन। यसै कारण बाध्यतावश धेरै नेपाली उपचारको लागि छिमेकी मुलुक जाने गरेका छन्।

बन्दाबन्दी हुनु झण्डै एक साता अघिदेखि केही ठूला अस्पतालका सिनियर डाक्टरहरू समेत बिदामा बसिसकेका थिए। ती अस्पतालका आकस्मिक कक्ष बाहेक अन्य बन्द भइसकेको थियो। मानौं कोरोनाभाइरस भन्दा अरू रोगै हुँदैन र अरू रोगले मानिसको मृत्यु नै हुँदैन। सरकारको उर्दी पनि कोरोनामा मात्रै लक्षित भयो। बन्दाबन्दीको ५ दिन अघि घाँटीको उपचारको रिपोर्ट देखाउन नर्भिक अस्पताल जाँदा यस्तै व्यवहार स्वयंले भोगेको छु। यतिवेला 'कोरोनाभाइरस बाहेक अन्य रोगले पनि मानिसको मृत्यु हुन्छ र !' भन्ने सोच सरकार, अस्पतालहरू र स्वास्थ्यकर्मीहरूमा रहेको भान पर्ने व्यवहार छ।

अस्पताल जाँदा कोरोनाको बहानामा उपचार अभावमा गुमाउनुपरेको ज्यानको जिम्मेवारी कसले लिने? उपचारको अभावमा ज्यान नै गुमाउनुपरेपछि कोरोनाभाइरसको संक्रमण हुनु र नहुनुले सम्बन्धित व्यक्तिमा के फरक पर्छ र? कोरोनाभाइरस संक्रमणको आशंकामा परीक्षणबिना नै कोरोना उपचार केन्द्रमा राख्ने र कसैले त्यता फर्किएर नहेर्ने गरेका विभिन्न दृष्टान्त छन्।

प्रदेश सांसद नै अस्पतालबाट भाग्नु, धनगढीको अस्पतालमा भर्ना भएर उपचारको लागि बसेका संक्रमितले आफूले भोगेको समस्याबारे फोनबाट जानकारी गराउनु र कोरोना विशेष अस्पताल भरतपुरमा संक्रमणको आशंकामा भर्ना गरिएका वीरगञ्ज जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवले आफ्नो वास्तविक स्वास्थ्य समस्याको उपचार अभावमा ज्यान गुमाउनुपरेको दु:खद यथार्थले स्वास्थ्य उपचारमा अहिले भइरहेको गैरजिम्मेवारीपूर्ण कार्य पुष्टि गर्छ। स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने अनि गुणस्तरीय स्वास्थ्य उपकरण उपलब्ध गराउने कार्य भाषणमा मात्र सीमित छ। यस बीचमा विदेशबाट मगाइएको सामानको गुणस्तरमा समेत प्रश्न उठेको छ।

अधिकांश निजी अस्पताल तथा मेडिकल कलेजहरू सहज अवस्थामा नाफा कमाउन मात्र खोलिएका हुन् भन्ने ठाउँ प्रशस्त दिएका छन्, यसका संचालकहरूले। यीमध्ये धेरैले न कोरोनाभाइरस संक्रमणको उपचारमा सहयोग गरे, न त नियमित उपचारमा आफ्नो धर्म निर्वाह गरे। घोषणा र निर्णयमा ठूल्ठूला कुरा गरिए पनि फिल्डमा जानेले तीतो यथार्थ भोग्नुपरेको छ। उपचार केन्द्रमा आउने बिरामीसँग स्वास्थ्यकर्मी डराउने, कतिपय सिनियर चिकित्सकहरू अस्पतालसँगै डराउने अवस्थाले संक्रमणको आशंकामा अन्य रोगका पीडितहरूले उपचार अभाव भोग्नुपरेको छ।

युद्धमा व्यक्तिगत फाइदाको लागि अपराध गर्ने र मैदानबाट भाग्ने सिपाही र आफ्नो ज्यान जोगाउने नाममा पेशागत धर्मबाट विमुख हुने अस्पताल र स्वास्थ्यकर्मीलाई फरक ढंगले परिभाषा गर्नु नपर्ला। यस्तो महामारीमा कर्तव्यबाट विमुख हुने र नागरिकको जिउज्यानमा खेलवाड गर्ने अधिकार कसैलाई छैन। हिजो मेडिकल कलेजहरू सरकारले खोल्नुपर्ने, निजीहरू संसाधन सम्पन्न हुनूपर्ने आन्दोलन हुँदै गर्दा अभियन्तालाई अनर्गल आरोप लगाउनेहरूमा पनि यतिखेर चेत खुल्नपर्ने हो।

कोरोनाभाइरस संक्रमण बाहेकका कैयौं यस्ता रोगहरू छन्, जसको समयमा उपचार हुन नसके तत्काल जीवन समाप्त हुन्छ। संक्रमणको डरले बिरामीको उपचारबिना नै मृत्युवरण हुनु मानिसको जिउन पाउने अधिकारमाथिको बन्देज हो।

प्रतिकृया दिनुहोस