हाम्रोपात्रोको सुविधा : कोरोनाभाइरसको आशंका लागे घरबाटै डाक्टरसँग भिडियोकल
हाम्रोपात्रोले नेपाल चिकित्सक संघ सँगको सहकार्यमा घरबाटै कोरोनाभाइरसका बारेमा लागेका विषयमा छलफल गर्न डाक्टरसँग भिडियोकल गर्ने सुविधा ल्याएको छ।
नेपाल चिकित्सक संघ, हाम्रोपात्रो र मोबाईल नेटवर्क एनसेलको प्राविधिक सहयोगमा घरबाटै कोरोनाभाइरसको लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि एनसेल कल टु डाक्टर सेवा प्रयोग गर्न सकिने हाम्रोपात्रोले जनाएको छ।
यो सेवा प्रयोग गर्नका लागि हाम्रोपात्रोमा गएर आफ्नो समय अनुसार अनलाइन बसेका नेपाल चिकित्सक संघका डाक्टरहरूसँग सजिलै भिडियोकल गर्न सकिनेछ।
डाक्टर अनलाइन भएको खण्डमा एपमा 'डाक्टरलाई कल गर्नुहोस्' लेखिएको बटन थिचेर केवल एक क्लिकमैं भिडियोकल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष राख्न सकिनेछ।
यो सेवा हाम्रोपात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, कोरोनाको संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि मात्रै एनसेलसँगको प्राविधिक सहकार्यमा तयार गरेको जनाएको छ।
"यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित बिरामीले फोन नगरि अहिलेको यस स्वास्थ्य संकटका एक मात्र सहारा रहेका डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि यस सेवाले महत्व राख्ने छ" हाम्रोपात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले भनेका छन्।
साथै अहिले सरकारले गरेको बन्दाबन्दीमा पनि नागरिकमा स्वास्थ्य समस्या नहोस् भनेर यो सुविधा ल्याइएको देवकोटाले जानकारी दिएका छन्।
साथै हाम्रोपात्रोले [email protected], [email protected], [email protected] मा ईमेल गरेर पनि आफ्ना समस्याहरू राख्न सकिने जनाएको छ ।