काेराेना महामारी विश्वयुद्ध पछिकै ठूलो चुनौतीः महासचिव गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दोस्रो विश्व युद्धपछि संसारले सवैभन्दा ठूलो चुनौती सामना गरिरहेको बताएका छन् । कोरोना (कोभिड–१९) ले पारेको सामाजिक–आर्थिक प्रभावबारे प्रतिवेदन सार्वजनिक गर्दै महासचिव गुटेरेसले संसारले ठूलो क्षति बेहोर्नु परेको बताएका छन् ।
उनले भने, “यो महामारीले अस्थिरता, अशान्ति र द्वन्द्व बढाउनेछ ।” यो महामारी विरुद्ध विश्वव्यापी रुपमै बलियो र प्रभावकारी प्रयासको खाँचो रहेको उनले बताए ।
राजनीतिक खिचातानी र खेल बन्द गरी हरेकले यो महामारी विरुद्ध जुध्नुपर्ने महासचिव गुटेरेसको भनाइ छ । “हामी संयुक्त राष्ट्र संघको ७५ वर्षे इतिहासमै ठूलो स्वास्थ्य संकट बेहोरिरहेका छौं । मानिसहरु मर्नेदेखि कष्टकर समय बढाउँदै लगेको छ”, उनले भने ।
यो महामारी स्वास्थ्य संकट भन्दा पनि मानवीय संकट बनेको उनले बताए ।