कोभिड–१९ रिपोर्ट नेगेटिभ तर, उठेन शव
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा गत १६ चैतमा मृत्यु भएका बाबुराम थापाको शव अझै उठ्न सकेको छैन। मृत्युको यथार्थ कारण र क्षतिपूर्ति माग गर्दै परिवारका सदस्यले शव उठाउन नमानेका हुन्।
थापाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा छ। उनको सोमबार मात्रै कोरोना नेगेटिभ भएको रिपोर्ट आएको थियो। मृतक थापाकी श्रीमती रिताले कोरोनाभाइरस नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने बताइन्।
उनले श्रीमान् हिँड्दै अस्पतालमा पुगेको र अर्को दिनसम्म फोन सम्पर्कमा समेत भएको अवस्थामा अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको दाबी गरिन्। छोराहरु र आफूलाई पनि सरकारले हेर्नुपर्ने उनले माग गरेकी छिन् । “अस्पतालमा समेत उहाँलाई अमानवीय व्यवहार गरेका थिए, कोरोनाभाइरसको संक्रमण नभएको हो भने अस्पतालको लापरवाही हो। यसको छानबिन हुनुपर्छ” उनले भनिन्।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शशन थापाले उनको मृत्यु निमोनियाले भएको रिपोर्ट आएको बताए। शव बुझ्नका लागि परिवारलाई खबर गरिएको उनले जानकारी दिए।
पाल्पा रिब्दिकोट गाउँपालिका–६ मा स्थायी घर भएका थापाको परिवार सैनामैना नगरपालिका–४ सिसौडाँडामा भाडामा बस्दै आएको थियो। गत ६ चैतमा दुबईबाट नेपाल आएपछि उनी सैनामैनामा परिवारसँगै थिए। उनी वैदेशिक रोजगारीबाट पाँच वर्षपछि घर आएका थिए।
घर आएको एक हप्तापछि गत १३ चैतमा ज्वरो आएको भन्दै उनी लुम्बिनी प्रादेशिक अस्पताल गएका थिए। उनले अस्पताल जान अटो रिक्सा रिजर्भ गरेका थिए।
त्यहाँका स्वास्थ्यकर्मीले आइसोलेसनमा राखेर उपचार गर्ने भन्दै कोरोना विशेष अस्पताल पठाएका थिए। उपचारका क्रममा तीन दिनपछि उनको मृत्यु भएको थियो।