सुकुमबासी बस्तीमा राहत
थापाथालीस्थित सुकुमबासी बस्तीका १५० घरधुरीलाई सुवास लिम्बूले व्यक्तिगत रूपमा राहत बाँडेका छन्। बन्दाबन्दीपछि दैनिक हातमुख जोड्न समस्या भएका उनीहरुलाई लिम्बूले चामल, दाल, तेल, मसेउरा र चना वितरण गरेका छन्।
लिम्बूले प्रतिपरिवार १५ किलो चामल, एक किलो दाल, एक लिटर तेल वितरण गरे। बस्तीका आँखा देख्न नसक्ने दम्पती सल्टु मुखिया र प्रमेश्वरी देविसहित दुई परिवारलाई उनले थप रु.१ हजार पनि प्रदान गरे।
बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका गरीब जनतालाई राहत दिनु स्वागतयोग्य कार्य भएको बस्तीका सल्लाहकार दलमर्दान कामीले बताए। बन्दाबन्दीले सुकुमबासी बस्ती मारमा परपछि सामाजिक सञ्जाल फेसबुक मार्फत केही युवाले सहयोगको अपिल गरेका थिए।
समाजसेवी तुलसी श्रेष्ठले पनि बस्तीमा राहत सहयोग उपलब्ध गराएको कामीले जानकारी दिए। अधिकांश ज्यालादारी मजुदुर रहेको बस्तीमा कतिपयले चिउरा र खोले खाइरहेको उनले बताए।