रुसमा कोरोनाभाइरस सम्बन्धी गलत समाचार फैलाए पाँच वर्ष जेल
रुसले कोरोनाभाइरस संक्रमण रोक्न कडा कानून बनाएको छ। रसियन संसदले पारित गरेको कानूनमा कोरोनाभाइरस सम्बन्धी गलत समाचार फैलाए पाँच वर्ष जेल सजाय हुने उल्लेख छ।
त्योभन्दा कठोर सजाय बन्दाबन्दी उल्लंघनमा राखिएको छ। बन्दाबन्दी उल्लंघन गर्नेलाई अधिकतम सात वर्षसम्म कैद हुनेछ।
क्वारेन्टिन उल्लंघन गरेको कारण संक्रमण फैलिएर अर्को व्यक्तिको मृत्यु भए संक्रमण फैलाउनेलाई सात वर्ष कैद सजाय हुन्छ। घरै बस्न दिएको आदेश उल्लंघन गर्ने स्वस्थ व्यक्तिलाई पनि ठूलो रकम जरिवाना तोकिएको छ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि रुसले कडा कदम चालेको हो। उसले संसदका कतिपय प्रक्रिया निलम्बन गरेर संक्रमणविरुद्धका नयाँ कानून र पुरानाको संशाेधन तत्काल पारित गरेको थियो ।
अहिलेसम्म त्यहाँ १७ जनाको मृत्यु भएको छ भने दुई हजार ३३७ संक्रमित भेटिएका छन्। रसियामा संक्रमण रोक्न कठोर हुनु परेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। कोरोनाभाइरसको संक्रमण मस्कोमा पनि देखिएको छ।
गत फेब्रुअरीदेखि नै कोरोनाभाइरस फैलिन नदिने रुसले विभिन्न कदम चाल्दै आएको छ। उसले चीनसँगको लामो सीमा गत फ्रेब्रुअरीमा नै बन्द गरेको थियो।
मस्कोका सडक मंगलबार सुनसान थिए। तर, रेष्टेरेन्टहरु भने खुला थिए। नयाँ कानून बनेपछि बन्दाबन्दीको पूर्ण पालना हुने रुसका अधिकारीले जनाएका छन्।