गाँजा तस्करीको आरोपमा इशनाथका मेयरलाई पक्राउ पूर्जी जारी
रौतहटमा एक नगरपालिकाका मेयरलाई जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई गाँजा तस्करीको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । मेयर मेहताका भाइ मोहन मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष हुन् ।
११ माघमा हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीस्थित इलाका प्रहरी कार्यालयको टोलीले पूर्व–पश्चिम लोकमार्गमा एउटा एम्बुलेन्स जाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार बरामद भएको थियो ।
रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छ वटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
एम्बुलेन्स चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद, अर्का डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ ।
अदालतमा विनोद सहनीको बयानको आधारमा अदालतले मेयर मेहता र उनका भाइ मोहनलाई पक्राउ गरी बुझाउन जिल्ला अदालत मकवानपुरको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पुर्जी पठाएको हो ।
रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएको बताउँदै दुवै जनाको खोजी भइरहेको बताए ।
-सञ्जय मित्र, रौतहट