इटालीमा कोरोना महामारी संक्रमित एक लाख नाघ्यो, एघार हजारको मृत्यु
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या एघार हजार नाघेको छ । यो संख्या चीन भन्दा झण्डै चार गुणा बढी हो । अहिलेसम्म इटालीमा एघार हजार ५९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
महामारीको बढी प्रभाव देखिएको इटालीमा संक्रमित संख्या एक लाख नाघेको छ । त्यस मध्ये झण्डै चार हजार बिरामी गम्भीर छन् ।
इटालीमा २९ जनवरीमा पहिलो कोरोनाको संक्रमण देखिएको थियो । अमेरिकामा भने डेढ लाख बढीमा संक्रमण देखिइसकेको छ ।
संक्रमणको संख्या भने अमेरिकामा सवैभन्दा बढी छ । अमेरिकामा एक लाख ६४ हजारमा संक्रमण देखिएको छ । तीन हजार बढीको महामारीबाट मृत्यु भएको छ ।
यूरोपेली मुलुक स्पेनमा ८७ हजारमा संक्रमण देखिएको छ भने सात हजार बढीको मृत्यु भएको छ । चीनले भने कोरोना लगभग नियन्त्रणमा लिएको छ । चीनमा ८१ हजारमा संक्रमण देखिएकोमा ७६ हजार बढी बिरामीलाई निको भइसकेको छ । अहिले दुई हजार सामान्य र पाँच सय गम्भीर बिरामी छन् । चीनमा तीन हजार तीन सयको महामारीबाट मृत्यु भएको छ ।
यूरोपेली मुलुक फ्रान्समा ४४ हजारमा संक्रमण देखिएमो तीन हजारको मृत्यु भएको छ भने जर्मनीमा ६७ हजारमा संक्रमण देखिएकोमा ६५० जनाको मृत्यु भएको छ ।
२०० देशमा फैलिएको महामारीबाट अहिलेसम्म सात लाख ८९ हजार संक्रमित भएका छन् भने ३८ हजारको मृत्यु भइसकेको छ । संक्रमित मध्ये एक लाख ६६ हजार बिरामीलाई भने निको भएको छ ।