गाउँघरमा छैन बन्दाबन्दीको प्रभाव : स्थानीय तहसँग छैन गाउँ फर्किनेको तथ्याङ्क
अच्युत राज भण्डारी
कोरानाभाइरसको जोखिम रोकथामका लागि सरकारले देशभर बन्दाबन्दी लागू गरे पनि मुगुका ग्रामीण वस्तीमा यसको प्रभाव शून्य देखिएको छ । सरकारले गत मंगलबार बिहान ६ बजेदेखि देशभर बन्दाबन्दी गरेपनि मुुगुका ग्रामीण क्षेत्रमा भने यसको प्रभाव नदेखिएको हो।
कतिपयले बन्दाबन्दीबारे बुझेर अवज्ञा गरेका छन् भने कतिले नबुझेका कारण मानिसहरू खुल्ला रुपमा हिँड्डुल गरिरहेका छन।
बन्दाबन्दी मात्र होइन गाउँघरमा कोरोना संक्रमणबारे पनि जानकारी छैन । “स्थानीयहरू सहरमा मात्रै यसको संक्रमण फैलिने भएकाले मानिसहरू गाउँ फर्किएको भन्दै बन्दाबन्दीको नियमलाई उल्लंघन गरिरहेका छन्” –भन्छन् छायाँनाथ रारा नगरपालिका वडा नं १० का स्थानीय अंकबहादुर बुढा ।
“काेरोना र बन्दाबन्दी बारे गाउँघरमा पर्याप्त जानकारी नभएकाले पहिले जस्तै गाउँलेहरु नियमित घरखेतमा काम गर्ने, जमघट भएर भलाकुसारी गर्ने गरेको” बताउँछन् भामवडा गाउँका स्थानीय नन्द बहादुर रोकाया।
सोरु गाउँपालिका जडेपानी गाउँका स्थानीय धिरेन्द्रबहादुर शाहीले पनि गाउँपालिकाको केन्द्र सोरुकोटमा मात्र बन्दाबन्दीले बजार बन्द भएको र आसपासमा मात्र कोरोना रोग बारे सामान्य जानकारी भएको बताए ।
गाउँमा रोग फैलिए भयावह स्थिति आउने अवस्था रहेको उनको भनाइ छ । “एक त गाउँलेहरूमा कोरोना बारे जानकारी छैन त्यसमा पनि गाउँघरमा भेटघाट गर्ने, एक घरबाट अर्को घरमा जाने र गाउँमा बाहिरबाट आफन्त आए भेटघाट गर्ने चलन उस्तै रहेको छ” उनी भन्छन् ।
मास्क लगाउनु पर्ने, साबुन पानीले हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र बाहिरबाट आएकालाई क्वारेन्टिनमा बस्नु पर्ने बारे जानकारी नभएको स्थानीय बताउँछन् ।
स्थानीयहरू नजिकै आएको चैते दशैको तयारीमा घर लिपपोतदेखि वर्षे बाली धान, कोदो लगाउनमा ब्यस्त देखिन्छन् ।
“बिहानैदेखि खेतगराको काममा ब्यस्त छौँ । चैते दशै आयो, त्यसैको काममा ब्यस्त छौँ” छायाँनाथ रारा नगरपालिका वडा नं ५ भामवाडा गाउँका दन्तु बिकले भने ।
कसैसँग छैन जिल्ला भित्रिएकाको तथ्याङ्क
कोरोनाभाइरसको संक्रमण शुरु भएयता जिल्लामा कति मानिस भित्रिए भन्ने तथ्याङ्क कसैसँग छैन ।
“बाहिरबाट आएका केही मानिसहरूले हेल्थ डेस्कमा पुगेर आफ्नो स्वास्थ्य परीक्षण गराए पनि कोही खबरै नगरी घर फर्किएका छन्”, नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले भने “यसले संक्रमण फैलाउने चिन्ता बढेको छ ।”
बाहिरबाट आएकाको तथ्याङ्क संंकलन गरी १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्ने भएपनि मुगुमा समान्य परीक्षण गरेर घर पठाउने गरेको बताउँछन् छायाँनाथ रारा नगरपालिका १ का नरेश शाही ।
कामका लागि भारत गएका स्थानीय पनि यो समयमा घर फर्किएका छन् । तर उनीहरुको अवस्थामा के छ भन्ने बारेमा सम्बन्धित सरोकारवाला निकाय कसैले पनि चासो देखाएका छैनन् ।
गाउँपालिकाहरू सोरु, खत्याड, रोगं र छायाँनाथ रारा नगरपालिकाका विभिन्न गाउँबस्तीमा भारत लगायत बाहिर जिल्लाबाट आएका ब्यक्तिको तथ्याङ्क संकलन लगायतका कारमहरू स्थानीय तहले प्रभावकारी ढंगले नगरेको स्थानीयको आरोप छ ।