कोरोना महामारी: भारतमा ४० जनाको मृत्यु, १३ सय बढी संक्रमित
दक्षिणी छिमेकी मुलुक भारतमा मंगलबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार, सवैभन्दा धेरै महाराष्ट्र प्रभावित बनेको छ । त्यहाँ दश जनाको मृत्यु भएको छ । गुजरातमा ६, कर्नाटकमा ३, मध्य प्रदेशमा ३, दिल्लीमा दुई, कश्मीरमा दुई जनाको मृत्यु भएको छ ।
तमिलनाडु, बिहार, पञ्जाब र हिमाञ्चल प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । केरला र वेस्ट बंगालमा एक–एक जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारत सरकारले २१ दिनका लागि बन्दाबन्दी घोषणा गरेको छ । सोमबार एकै दिन दुई सय बढीमा संक्रमण देखिएकोमा मंगलबार थप ३० जनामा संक्रमण देखिएको छ ।
भारतमा अहिलेसम्म १३४० जनामा कोरोनाको संक्रमण देखिएको छ। केरलामा २३४ र महाराष्ट्रमा २३० जना संक्रमित देखिएका छन् । महाराष्ट्रमा मंगलबार १० जनामा संक्रमण देखिएसँगै २३० पुगेको हो ।
दिल्लीमा ९७ जनामा संक्रमण देखिएको छ। कर्नाटकमा ९१, उत्तर प्रदेशमा ९६, तेलंगामा ७७, गुजरातमा ६७, राजस्थानमा ७९ र कश्मीरमा ४९ जनामा बढीमा संक्रमण देखिएको छ ।
यस्तै, मध्ये प्रदेशमा ४७, पञ्जाबमा ४१, हरियानामा १५ र लद्दाखमा १३ जना संक्रमित देखिएका छन्। छत्तिसगढमा १३, उत्तराखण्डमा सात जनामा संक्रमण देखिएको छ ।