चैती छठ सम्पन्न, कसैकाे घरमै पूजा कसैले घाटमा
चैत महिनाको शुक्ल षष्ठी र सप्तमी तिथिका दिन पनि परम्परागत तरिकाले मनाइँदै आएको छठ बन्दाबन्दीले गर्दा फरक–फरक तरिकाले मनाएका छन्।
जलाशयको किनारमा गई षष्ठी तिथिका दिन अस्ताउँदो र सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिइने परम्परा रहेको लोकपर्व छठमा बन्दाबन्दीका कारण कतै घरमा त कतै जलाशयका घाटमा गई व्रतालुहरुले छठ मानेका छन् ।
जिल्ला सदरमुकाम गौरमा जिल्ला प्रशासन कार्यालय तथा गौर नगरपालिकाका प्रमुख अजय गुप्ताको पहलमा बन्दाबन्दीमा जलाशयको किनारमा जाँदा भीडभाड हुने भएकाले घरमै बसेर छठ मान्न आग्रह गरेपछि व्रतालुहरु आग्रहलाई स्वीकार गरेका छन् ।
विषम परिस्थितिलाई बुझेर व्रतालुहरुले यसपालि घरमै छठको सबै विधि पूरा गरेका छन् ।
मध्य रौतहटको समनपुर र गरुडा लगायत विभिन्न गाउँका व्रतालुहरु भने घाटसम्म पुगेर साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । अस्ताउँदो सूर्यलाई घाटमा नै गएर अर्घ दिए पनि घाटमा रात बिताउने व्यवस्था कतै नगरिएकाले सबै ठाउँका व्रतालुहरु अर्घ दिएर घर फर्केका छन् ।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठको समापन भएको छ ।
कात्तिकमा मनाइने छठको जस्तै चैती छठको पनि हरेक वर्ष विस्तार हुँदै गएको छ । विश्वमा कोरोना भाइरसले गर्दा विषम परिस्थिति उत्पन्न भएपछि तराई मधेसमा चैती छठको परम्परा निर्वाहको काम भएको छ ।
अन्य वर्ष चैती छठको विशेष धूमधाम रहे पनि यो वर्ष विषम परिस्थितिले चैती छठलाई प्रभावित पारेको छ ।
सञ्जय मित्र, रौतहट
वीरगंजमा छठकाे चहल-पहल भिडियाे: