राउटे समुदायलाई खाद्यान्न र न्यानो झोला वितरण
सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी खोला किनारमा बस्दै आएका लोपोन्मुख राउटे जातिलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयले देशभर भएको लकडाउनका कारण उनीहरुको दैनिकीमा समस्या भएकाले खाद्यान्न तथा न्यानो झोला वितरण गरेको जनाएको छ ।
मन्त्रालयले राउटे समुदायलाई चामल, दाल, नुन र तेल वितरण गरेको हो । त्यसैगरी सो बस्तीमा रहेका सुत्केरी महिलालाई न्यानो झोला वितरण गरिएको छ । उक्त बस्तीमा रहेका ४६ घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दुई केजी दाल, दुई लिटर तेल र नुन वितरण गरिएको छ ।
खाद्यान्नसँगै राउटेहरुको स्वास्थ्य जाँच गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञावालीले जानकारी दिइन् ।
“राउटे समुदायमा रहेका सुत्केरी महिलाको अवस्था दयनीय थियो”, उनले भनिन्, “उनीहरुको स्वास्थ्य जाँच गर्नुका साथै न्यानो झोला वितरण पनि गरेका छौं र उनीहरुलाई यसको प्रयोगबारे पनि जानकारी गरायौं ।” उनले कोरोनाभाइरसका बारेमा राउटे समुदायलाई जानकारी पनि गराएको बताइन् ।
भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले राउटे बस्तीमा भएको खाद्यान्नको समस्याको विषयमा सामाजिक विकास मन्त्रालयलाई जानकारी गराएपछि नगरपालिकाको पहलमा खाद्य सामग्रीका साथै न्यानो झोला वितरण गरिएको जानकारी दिइन् ।
त्यसैगरी न्यानोझोलामा भएका सुत्केरी महिला तथा नवजात शिशुका लागि कपडा तथा सामग्रीको प्रयोग गर्ने तरिकाको विषयमा समेत जानकारी दिएको आचार्यले बताइन्।
लक्ष्मी भण्डारी