प्रदेश ५ का तीन ठाउँमा कोरोनाभाइरस प्रयोगशाला बन्ने
प्रदेश ५ सरकारले प्रदेशका तीन ठाउँमा कोरोना भाइरसको परीक्षण प्रयोगशाला बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले भैरहवा, दागं र नेपालगञ्जमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।
निर्णय अनुसार अब भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु हुने छ ।
त्यसैगरी सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र उनीहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने निर्णय पनि वैठकले गरेको छ ।
निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्नुपर्ने निर्णय बैठकले गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था गरेर कृषिको कामलाई निरन्तरता दिने निर्णय प्रदेश सरकारले गरेको छ ।
१२ वटै जिल्लाका एम्वुलेन्स चालकलाई प्रशासन कार्यालयमा पिपिई पठाइएको छ ।