भक्तपुरका ९५ जनालाई प्रहरीको निशूल्क खाद्य सामग्री
भक्तपुरका ९५ जना असहाय तथा अपाङ्गता भएकालाई महानगरीय प्रहरी कार्यालयले निशूल्क खाद्यान्न वितरण गरेको छ। मानव कल्याण समाज झौखेलका ६३, हनुमन्ते करिडोर ठिमीका अशक्त र असहाय २० र सल्लाघारीका १२ जनालाई खाद्य सामग्री वितरण भएको हो।
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले खाद्यान्न वितरण गरेका थिए। विभिन्न ब्यांकहरुसँगको सहकार्यमा खाद्य सामग्री वितरण गरिएको प्रहरीले जनाएको छ।
बन्दाबन्दीमा अपाङ्गता भएका, असहाय र दैनिक ज्यालादारी गर्नेलाई समस्या हुने भएकाले सहयोग थालेको प्रहरीले जनाएको छ। बन्दाबन्दीमा खानेकुरा अभावकै कारण चोरी, डकैती, हत्या, गठी जस्ता अपराध बढ्ने प्रहरीको भनाइ छ। अपराध नियन्त्रणका लागि सहयोग अभियान चलाइएको महानगरीय प्रहरी कार्यालय प्रमख पोखरेलले बताए।
उनका अनुसार सहयोग अभियान बन्दाबन्दी अवधिभर जारी रहने छ। काठमाडौँ उपत्यकामा कसैलाई खाद्य सामग्री अभाव भएको जानकारी भए प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन पनि पोखरेलले आग्रह गरेका छन्।