कोभिड-१९ सोमबार, चैत १७, २०७६

‘फेरिरहेको सासप्रति आभारी छु’

हिमालखबर

‘फेरिरहेको सासप्रति आभारी छु’

 

 

ऋचा भट्टराई

 “म तिम्रो नाममा अपार्टमेन्ट बुक गरिदिन्छु, मेरो खातामा सेक्युरिटी डिपोजिट पठाइदेउ है, १७०० डलर,” एकाबिहानै मेरी हुनेवाला घरबेटी योकोको खबर आयो ।

“मसँग अहिले त्यत्रो पैसा छैन,” मैले लेखेँ ।

“म बुझ्छु,” उनले जवाफ दिइन्, “५०० डलर पठाइराख न त ।”

“त्यति पनि छैन ।”

“अहिलेलाई पेपालबाट १०० पठाइदेउ, भैहाल्छ ।”

“१०० पनि पुग्दैन...”

त्यसपछि योकोको ईमेल आउनै बन्द भयो ।

मेरो बैंकको खातामा थियो ५७ डलर । आफूसँग भएको नगद गन्दा जोडजाड ८० पुग्थ्यो ।

अमेरिकामा कोभिड–१९ को त्रास बढेसँगै कार्यालय र बैंक दुवैले प्रत्यक्ष सञ्चालन र सेवा बन्द हुने सूचना निकालिसकेका थिए । नेपालबाट अमेरिका आएको दोश्रो साताको पहिलो दिन । मैले चिनेका सहकर्मी १० जना पनि पुगेका थिएनन्, कामको शुरुवात भएकै थिएन, मानिसको भिन्न भिन्न लवजले नै अल्मल्याइरहेको थियो । र त्यतिबेलै आएको थियो, योकोको इमेल ।  

गत फेबु्रअरीमा विश्व बैंकको मुख्यालय वाशिङ्गटन डिसीमा कामका लागि अन्तर्वार्ता दिएकी थिएँ । छनोट हुनेबित्तिकै मेरा प्रबन्धकको आग्रह थियो, “सकेसम्म छिटो आउ है ! यहाँ कामको उरुङ छ ।”

टिकट खोज्दा तीनवटा विकल्प पाइयो, तर कतारसम्मको उडानमा सिट खाली थिएन ।

“दक्षिण कोरियातिरबाट जाउँ कि त ?” मैले टिकट अधिकृतलाई सोधेँ, “फेरि कोरोना भाइरसको संक्रमण भएको ठाउँ छ...”

“भयो, नजानुस्,’ अधिकृतले सही थापे, “के पर्छ, पर्छ ! एक–दुई दिन कुर्नुस्, म खोज्छु ।”

साँच्चै नै उनले दोहाकै उडानमा टिकट मिलाइदिए र मैले मार्च २ देखि कार्यालयमा हाजिर गर्न थालेँ ।

सबै तस्बीरः ऋचा भट्टराई

उड्नु अघि मलाई एउटा मात्र चिन्ता थियो, कुनै कारणले ज्वरो आएर कतै १४ दिन अलपत्र परेँ भनेँ ? भाइरसका बारेमा समाचार आउन लागेका थिए, तर मुख्यतयाः चीनमै सिमित । स्वस्थ्य रहन सजग भइरहेँ, रुघा लागेकी दिदी हिँड्ने बेलामा बिदा गर्न पनि आउन सकिनन्।

कार्यालय गएपछि थाहा पाएँ, यहाँ भाइरसलाई गम्भीर रुपमा लिइसकिएको रहेछ । म आइपुगेकै साता धेरै छलफलपछि निर्णय भयो – विश्व बैंकको सबैभन्दा महत्वपूर्ण कार्यक्रममध्ये मानिने “स्प्रिङ्ग मिटिङ” रद्द गर्ने ।

विश्व बैंकका कर्मचारी बाहेक संसारभरका ५,००० बढी मानिस भेला हुनु डेढ महिना अघि नै रोकियो । र यही मिटिङकै लागि विशेष रुपमा काम गर्न बोलाइएकी म पनि रनभुल्लमा परेँ ।

भर्खरै नयाँ ठाउँको मेलोमेसो बुझ्न खोज्दै थिएँ, यहीँ आएर खाता खोलेर थप रकम जम्मा गर्छु भनेर थोरै मात्र नगद बोकेकी थिएँ (जसमध्ये तीन–चौथाई भाडा तिरिहालेँ) । हिँड्ने बेलामा कार्डको समस्याका कारण पैसा जम्मा गनै सकिन् ।  बैंक खाताको फेरबदलले गर्दा कार्यालयले तलब पनि हालिदिन पाएको थिएन । त्यहीबेला सबै डामडुम बन्द भयो ।

र अहिले बसेको ठाउँ छोड्नुपर्ने भएकोले नयाँ अपार्टमेन्ट खोजेकी थिएँ – तर त्यहाँ सर्नु अघि तिर्नुपर्ने पैसा पनि भएन ।

हुन त नजिकका नातेदार र मिल्ने साथीहरु हुनुहुन्छ वरपर । बेलाबेला सोधपुछ गरिरहनुहुन्छ, गाह्रोसाह्रो पर्दा सुनाउन पनि मिल्छ । मेरी साथी गायत्री दिनहुँ भन्छिन् मलाई, “सहयोग चाहे निर्धक्क भनिहाल्ने है, निर्धक्क !” सबैजना यति भाग्यमानी कहाँ हुन्छन् र ?

तर पनि मलाई लाग्यो, आफैँ गर्छु, एक्लै सक्छु, मेरो “कम्फर्ट जोन” बाट निस्किन्छु भनेर आएकी थिएँ । आफ्ना समस्याहरु आफैँ सुल्झाउनुपर्छ, अरुको सहयोग अन्तिम विकल्प ।

मेरो जागिरको खबर सुनाउँदा बुवाले भन्नुभएको थियो, “इट वील बी लोन्ली एण्ड डिफिकल्ट” – “एक्लो र अप्ठ्यारो हुनेछ ।” मलाई लाग्यो, बुवाले आफ्नो बारेमा भन्नुभएको होला । तर होइन, बुवालाई अझै यही हुर्केकै छोरीको एकाङ्कीपनको चिन्ता रहेछ ।

अब त “लोन्ली” भई घरमै सीमित भएको दुई साता नाघिसक्यो । सामान लिनु परे स्टोर गयो, सेनिटाइजरले पुछेर कार्ट दिन्छन्, स्प्रे गरिदिन्छन्, सकेसम्म टाढैबाट कारोबार ग¥यो ।

मलाई एउटा स्टोरमा छिर्न लगभग ४० मिनेट लाग्यो होला, एकअर्कासँग नछोइयोस् भन्नका लागि एकपल्टमा दसजना मात्र छिराइँदै थियो । यहाँका पर्यटकीय स्थल बन्द भएको निकै दिन भयो । १५ लाख मानिसले हेर्न आउने चेरीका रुखहरुलाई प्रहरीले घेराबन्दी गरेर जोगाएको छ, भित्र छिर्न दिइँदैन । 

यस्ता स्थल र मानिसहरुबाट टाढा, दिनको एकपल्ट, केहीबेर हिँड्न निस्किन्छु । वसन्तमा रमेको छ डिसी । पाइला पाइलामा झुलिरहेका नीला–पहेँला फूल, कञ्चन नीला आकाश, आकाशै छेक्नेगरि फैलिएका गुलाबी चेरी । 

फर्किँदा श्रीमानको टेक्स्ट आइसकेको हुन्छ, “तिमी बाहिरतिर नहिँड है । त्यो फूल समातेर तस्वीर नखिच है, अरु कतिले छोए होला त्यसलाई !”

उनलाई चिन्ता छ, मलाई केही भइहाले स्याहार्न त के, देख्न पनि पाइन्न । मार्चको अन्त्यमा उनी यता आएर ६ महीना सँगै बिताउने योजना अहिलेलाई थाँती छ, कुनै दिन पक्कै पूरा होला ।

एकैछिनमा दिदीको टेक्स्ट आउँछ, “आज बाहिर गइस् कतै ? नजिकै हावा खान निस्की है ।” उनको पीर छ, बहिनी नएक्लियोस्, स्वस्थ्य रहोस्, दिमागमा कुरा खेलाउँदा खेलाउँदै “क्याबिन फिभर” जस्तो स्थितिमा नपुगोस् ।

पहिले बिरलै फोन गर्ने बुवाको बिहान–बेलुकै मेसेन्जरमा कल आउँछ, “नानी, पुग्ने किताब छ नि ? यो समय अलि अध्ययनमा लगाउ, म त कोरोना डायरी लेख्दैछु ।”

अचेल सबैजना घरमै भएर होला, वर्षौँवर्ष अघिदेखि कुराकानी पातलिएका साथी र परिवारजनसँग फेरि साइनो गाँसिएको छ । म एक्लै भएको चिन्ताले पनि सहृदयीहरुले झकझक्याइ रहनुहुन्छ ।

धेरैजनाको पहिलो प्रश्न मलाई यीनै मध्ये कुनै हुन्छ, “तिमीलाई गाह्रो भयो ? कस्तो बेलामा अमेरिका आएछौ है ? एक्लै धुम्धुम्ती सास्ती भएको होला? के गरेर बस्छौ दिनभरि ? बोर भएको छ पक्कै ?”     

सबैले स्नेहले सोध्नुभएको हो, शायद आफ्ना अनुभव पनि बाँड्नुभएको हो ।

तर हामी शारिरिक, मानसिक अनि आर्थिक रुपले तुलनात्मक रुपमा स्वस्थ्य र सुरक्षित रहेका र प्रियजन पनि स्वस्थ्य रहेका व्यक्तिहरुलाई अहिलेको समयमा गाह्रो मान्ने छुट र अधिकार छैन, त्यो मैले दिनदिनै अनुभूत गरेकी छु ।

सधैँ नै जीवन प्रति कृतज्ञ रहने म, अहिले सजिलैसँग फेरिरहेको सासप्रति पनि आभारी छु । ग्लानि पनि हुन्छ, बाहिर विनाशको श्रृङ्खला चलिरहँदा म आनन्दले सुरक्षित स्थानमा बसेर सामाजिक सञ्जालमा यसको विश्लेषण गर्छु ।

तर फेरि लाग्छ, अनिश्चितता र बेटुङ्गोकै बीच जीवनको महत्व झनैं हुने रहेछ । पीरैपीर, डरैडरमा आफ्नो भागमा भएको खुशीको सम्मान मैले गर्न सकिन भने जीवनको अर्थ नै के भो र ? अरुको पीरमा म समानूभूति अनुभव गर्छु, तर यसले मलाई आफ्नो जीवन जिउन पनि त रोक्नु हुँदैन ।

अझै यस्तो विषय परिस्थितिमा, मैले आफ्ना वरदानहरुलाई दिनदिनै पहिचान गर्न छोड्नु हुँदैन...आखिर हरेक मानवको सुत्र हुन्छ र हुनै पर्छ परिस्थितिहरुसँग जुध्ने, मन बुझाउने, र अघि बढ्ने । यो नितान्त व्यक्तिगत हुन्छ, न अरुको सिक्न मिल्छ, न अरुलाई सापटी नै दिन सकिन्छ ।

सबैलाई अप्ठ्यारो परिरहेको अवस्थाले मलाई पक्कै चिमोटेको छ – दिनदिनै सयौँको ज्यान लिइरहेको यो विश्वव्यापी कहरको अन्त्य कहिले होला ? हाम्रा स्वास्थ्यकर्मीहरुले उपयुक्त सामग्री पाउन कति दिन कुर्नुपर्ने हो ? दैनिक कमाइ गरि खाने व्यक्तिहरुको जीवन कति कष्टकर बनेको होला ?

यो बेला दीर्घरोगका बिरामीहरुले कसरी सेवा पाउलान् ? नेपालका गाउँ–गाउँतिर यो फैलिँदै गए कस्तो स्थिति आउला ? मनोवैज्ञानिक रुपमा यसले हामीलाई कति कमजोर बनाउने हो ? यो स्क्रिनबाट एक–अर्कालाई हेर्नु सट्टा बेस्मारी अङ्गालो मार्ने दिन कहिले आउला ? 

परिवारसँग टाढा रहेर दिन–रात जोखिमपूर्ण काममा खट्ने मानिसहरु देख्छु, एउटै घरमा पनि संक्रमणको शङ्कामा छुट्टाछुट्टै कोठामा दिन बिताइरहेका मानिसका बारे पढ्छु, आमा–बुवाको मृत्युपछि अन्तिम बिदाइ पनि गर्न नपाएका छोराछोरीका टिलपिल आँखाका तस्वीर हेर्छु ।

दिनहुँ लाखौँ उद्यम बन्द हुँदैछन्, बेरोजगारीको यो लहरोले कतिजनालाई डुबाउने हो, कति परिवार फेरि चरम गरिबीको दलदलमा फस्ने हुन् । आफ्नो जीवनकालमै पहिलोचोटी भोगिरहेका यी घटनाले कसको मुट नछोला, कसलाई डर नलाग्ला, कसलाई अनिश्चयले नछोप्ला ?   

अन्य देशमा जस्तै कोरोनाजस्तो महामारीले अमेरिकाको वर्ग विभाजनलाई अझ टड्कारो बनाइदिएको छ । न्यू योर्क टाइम्सको लेख मा नोअम स्काइबर, नेल्सन स्वार्ज र टिफानी ह्सु लेख्छन्, धेरै अर्थमा कोरोनाले भेदभाव गर्दैन: यो राजादेखि रैतीसँग जसलाई पनि लाग्न सक्छ, कोही पनि बच्न सक्दैन । तर स्वास्थ्य, बालबालिकाको हेरचाह, शिक्षा, आवास र इन्टरनेट जस्ता सुविधाको पहुँचले नै योसँग लड्न सक्ने क्षमता खुट्याइदिन्छ।

जस्तै अमेरिकाका धनीहरु अहिले आफ्ना छुट्टी बिताउने विशाल घरमा चिन्ताबाट बेखबर “अल्छी” मान्दै बसिरहेका छन्, मध्यम वर्ग बच्चाहरुसँग चिडचिड हुँदै साना घर वा अपार्टमेन्टमा बसिरहेका छन् भने निम्न आय हुने वर्गका लागि सेल्फ–आइसोलेशन वा क्वारेन्टिन, सामान भण्डारणको श्रोत र विकल्प नै छैन ।

न बीमाको सुविधा, न बिरामी बिदा, न अरुबाट टाढा बस्न मिल्ने आवास, अनि स्वास्थ्य सेवाको अभावमा पहिले नै रुग्ण शरीर – स्वास्थ्यकर्मीका साथसाथै यी निम्न आय भएका स्टोर, सरसफाइ, यातायात र वितरणका कर्मचारीलाई नै कोरोनाको संक्रमणको उच्च जोखिम छ ।

डिसीको छिमेकी न्यू योर्क अहिले अमेरिकामा कोरोनाको केन्द्रबिन्दु बनेको छ । मार्च १ मा कोरोनाको पहिलो संक्रमण भेटिएको न्यू योर्कमा २९ मार्चसम्म १,००० बढीको त मृत्यु नै भइसक्यो । अनेक षडयन्त्रको सिद्धान्त (कन्सिपिरेसी थ्योरी)को उब्जनी भइरहेको बेलामा हाम्रै धार्मिक ग्रन्थहरुको सम्झना हुन्छ – कलियुगको विनाश यसैलाई भन्छन् कि ? भर्खरैको छलफलमा दिदीको चिन्ता थियो, हामी अब ग्रेट डिप्रेशनतिर फर्कन्छौँ कि ? भोकमरी फैलिएर पैसाको कुनै मोल रहन्न कि ?

भविष्य अन्योलमै छ, तर व्यक्तिगत रुपमा भने अहिले नै गल्न मिल्दैन । सही सूचना सम्प्रेषणमा सहयोग गर्ने, आफ्नो र आफ्नाको ख्याल राख्ने, अनि सक्दो सतर्कता अपनाउँदै दह्रिलो मनस्थिति पनि बनाइराख्ने जिम्मेवारी हाम्रै हो । समस्यामात्र खोज्दा त अथाह र विकराल छन्, तर हाम्रा वरपर अस्वभाविक परिवर्तन भइरहेका बेला कम्तिमा आफ्नो मनोबल र बोलीलाई नियन्त्रणमा राख्न सकौँ ।

यस्तो अस्थीर समयमा केही दिग्दारी स्वाभाविक नै हो । तर यस्ता क्षणमा म मेरी सहकर्मी क्याटलिनलाई सम्झिन्छु, जसले मलाई सातैपिच्छे जस्तो फोन गर्छिन्, “तिमीलाई केही भयो कि भनिहाल है, म गाडीमा लिन आइहाल्छु । मेरो घरको पाहुना कोठामा बस, मसँग टन्न पास्ता र सस छ, अनि मेरा दुइटा बिराला छन्, तिनीहरुसँग पनि खेलौली...!”

अब तिनै दुई छिर्केमिर्के बिरालासँग निस्फक्री  रमाउन पाउने दिनको प्रतीक्षामा छु ।

प्रतिकृया दिनुहोस