मन्त्रिपरिषद बैठक बस्दै, बन्दाबन्दीको अवधि बढाइने
आइतबार दिउँसो चार बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । कोरोना महामारीको प्रकोपबाट बच्न ११ चैतबाट जारी गरिएको बन्दाबन्दीबारे छलफल गर्न बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकले बन्दाबन्दीको अवधि थप गर्ने सहित अत्यावश्यकीय सामग्रीको उपलब्धतता र स्वास्थ्य परीक्षणबारे समेत छलफल गर्ने तयारी भएको छ ।
त्यस अगाडि कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठक बोलाइएको छ । यो बैठकले बन्दाबन्दीको अवधि थप गर्नेबारे छलफल गर्नेछ । त्यही निर्णय मन्त्रिपरिषदबाट पारित गर्ने तयारी भएको समितिका सदस्य रहेका एक मन्त्रीले बताए ।
उनका अनुसार, बन्दाबन्दीको अवधि एक हप्ता थप्ने तयारी भएको छ । विदेशबाट आएका नेपालीमा कोरोनाको संक्रमण देखिएपछि ११ चैतबाट एक हप्ताका लागि सरकारले नेपाल बन्दाबन्दी घोषणा गरेको छ ।
मन्त्रिपरिषदको आजको बैठकले ज्यालादारी मजदुर तथा न्यून आय भएका नागरिकहरुका लागि विशेष राहत प्याकेज घोषणा गर्ने समेत संभावना छ । तर, यसअगाडि उच्च स्तरीय समितिले भने स्थानीय तहले नै त्यस्ता नागरिकहरुको व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।