नेपाली सेनाले कोभिड–१९ का सूचना र जानकारी अब मोबाइल एपमा राख्ने
नेपाली सेनाले कोरोनाभाइरस संक्रमित र शंकास्पदहरूको सूचना तथा जानकारी संकलनका लागि मोबाइल एप प्रयोगमा ल्याएको छ । सेनाले तयार गरेको एपको नाम कोभिड–१९ रेस्पोन्स एप नेपाल राखिएको छ । हाललाई एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि मात्रै एप तयार भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न क्राउड सोर्सिङ को अवधारणा अनुसार सर्वसाधारणबाट सूचना लिन एप प्रयोगमा आउनेछ ।
एपको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छिमेक तथा साथीभाइमा कोभिड–१९ सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने छ । यस्तै गलत सूचनाबाट बच्न र सत्य सूचनाका लागि यो एप प्रभावकारी हुने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार एप मार्फत प्राप्त हुने डाटाहरूलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ ।
एप नेपाली सेनाको आधिकारीक वेबसाईट डब्लुडब्लुडब्लुडटनेपालआर्मीडटमिलडटएनपी(https://www.nepalarmy.mil.np/) बाट डाउनलोड गर्न सकिने छ । एप प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथी भाईमा केभिड– १९ सम्बन्धि कुनै लक्षण देखिएमा बिरामीको ब्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन् । बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितीमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्न सेनाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचारः