चीनबाट स्वास्थ्य सामग्री बोकेर आइपुग्यो नेपाल वायुसेवाको विमान
चीनबाट नेपालले किनेर ल्याएको अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायुसेवा निगमको विमान काठमाडौं आइपुगेको छ। अत्यावश्यक १२.६६ टन स्वास्थ्य सामग्री बोकेको विमान आइतवार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
शनिवार मध्याह्न १२ बजे स्वास्थ्य सामग्री ल्याउन चीनका लागि नेपालबाट गएको नेपाल वायुसेवाको एनएसी ए ३३०-२४३ विमान राति आइपुग्ने भनिए पनि लोड गर्न समय लागेका आज बिहान मात्रै आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिएका छन्।
महामारीसँग जुध्न स्वास्थ्य सामग्री र औषधीको अभाव हटाउन सरकारले १३ चैतमा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका स्वास्थ्य उपकरण र परीक्षण किट लिन नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय गरेको थियो।
त्यस्तै कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि चीनले सहयोग गरेको अत्यावश्यक स्वास्थ्य सामग्री सहित चिनियाँ विमान नेपाल प्रस्थान गरेको छ।
चीन सरकार र चिनियाँ अर्बपति व्यावसायी ज्याक माले उपलब्ध गराएको स्वास्थ्य सामग्री बोकेको विमान नेपालस्थित चिनियाँ राजदूतावासको सक्रियतामा ग्वान्झाओबाट छुटेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी हुन्।