कतारमा पहिलो पटक कोरोनाभाइरस संक्रमितको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट कतारमा पनि एक जनाको मृत्यु भएको छ। मृत्यु हुने ५७ वर्षीय बंगलादेशी नागरिक भएको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनको शनिबार मृत्यु भएको हो। उनलाई १३ दिनअघि (मार्च १६) मा संक्रमण देखिएको थियो। उनी दीर्घरोगी भएको बताइएको छ।
कतारमा झन्डै ६०० जनालाई संक्रमण भएको पुष्टि भइसकेको छ। तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन्।
कतारमा संक्रमित प्रायः विदेशी कामदार छन्। कोरोनाभाइरस संक्रमित नयाँ २८ बिरामी भेटिएपछि १४ चैत शुक्रबारबाट त्यहाँका औधोगिक क्षेत्र बन्द गरिएको छ। सबै कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।