चिनियाँ अर्बपति व्यवसायी ज्याक मा र सिचुवान प्रान्तको सहयोग स्वास्थ्य सामग्रीसहित उड्यो चिनियाँ विमान
कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहित चिनियाँ विमान काठमाडाैंका लागि उडेको छ । चीन सरकार र चिनियाँ अर्बपति व्यवसायी ज्याक माले उपलब्ध गराएको स्वास्थ्य सामग्री बोकेको विमान नेपालस्थित चिनियाँ राजदूतावासको विशेष सक्रियतामा ग्वाञ्झाओबाट उडेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
"चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेष्टमेन्ट ग्रुप र चिनियाँ दूतावसले नेपाललाई सहयोग गरेको पीपीई र थर्मोमिटरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री चिनियाँ दूतावासको सक्रिय सहकार्यमा ग्वाञ्झाओबाट नेपाल प्रस्थान गरेको छ, छिट्टै पुग्नेछ" राजदूत यान्छीले भनेकी छन् ।
राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरू प्याक गरिएका कार्टुनका तस्वीरहरू राखेर ट्विट गरेकी छिन् । उनले उक्त फ्लाइटमा ज्याक मा र चिनिया बहुराष्ट्रिय कम्पनी अलिबाबाले पहिलो चरणमा सहयोग गरेका मास्कलगायत प्रकोप नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री पनि आउने बताएकी छन् ।