कोरोना महामारीः इटालीमा मृतकको संख्या १० हजार नाघ्यो
कोरोनाभाइरस संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शनिबार मात्र ८८९ जनाको मृत्यु भएको छ।
योसँगै मृतकको संख्या १० हजार २३ पुगेको छ। त्यहाँ ९२ हजार ४७७ जना संक्रमित भइसकेका छन्। तीमध्ये १२ हजार ३८४ जना उपचारपछि निको भएका छन्।
त्यहाँ शुक्रबारको तुलनामा शनिबार मृत्यु हुनेको संख्या घटेको हो। शुक्रबार एकै दिन ९१४ जनाको मृत्यु भएको थियो। कुनै पनि देशमा एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो।
स्पेनमा पनि मृत्यु हुनेको संख्या छ हजार नजिक पुगेको छ। अहिलेसम्म त्यहाँ पाँच हजार ९८२ जनाको मृत्यु भएको छ। शनिबार मात्र स्पेनमा ८३२ जनाको मृत्यु भयो। स्पेनमा एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो। शुक्रबार एकै दिन ७७७ जनाको मृत्यु भएको थियो।
७३ हजार २३५ जना संक्रमित भेटिएकामा १२ हजार २८५ जना निको भएका छन्। भाइरस संक्रमण फैलँदै गएपछि सरकारले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण नागरिकलाई दुई हप्ता घरबाहिर ननिस्कन निर्देशन दिएको छ।
उता अमेरिमा मृतकको संख्या दुई हजार नाघेको छ। पछिल्लो ४८ घन्टामा नै मृतकको संख्या दुई गुणाले बढेको सीएनएनले जनाएको छ। त्यहाँ अहिलेसम्म दुई हजार १० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या एक लाख पाँच हजार नाघेको छ।
छिमेकी देश भारतमा अहिलेसम्म ८१९ भन्दा बढी संक्रमित भएको र १९ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। आइतबार बिहानसम्ममा विश्वभर कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६२ हजार नाघेको छ। ३० हजार ८४७ जनाको मृत्यु भइसकेको छ।