ब्लग आइतबार, चैत १६, २०७६

यसरी मेटाऔं बन्दाबन्दीमा घर बस्दाको छटपटी

हिमालखबर

यसरी मेटाऔं बन्दाबन्दीमा घर बस्दाको छटपटी

विश्वव्यापी महामारी कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले गएको मंगलबारदेखि देशभर बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ। संक्रमण रोकथाम गर्न सरकारले जारी गरेको आदेशको पालना गर्दै नागरिकहरू घरमै बसेका छन्।

प्रेमनारायण भुसाल

धेरैलाई बन्दाबन्दीको घर बसाइ बन्दी सरह बनेको छ । हालै एक सरकारी कर्मचारीले फोनमा हालखबर बताउने क्रममा यो पंक्तिकारसँग भने, ‘सेवा निवृत्त भएपछि अझ बढी आवश्यक पर्छ भनेर ऋणधन गरेर घर बनाइयो, तर आज एक दिन घरभित्र बस्दा एक वर्ष जेलमा बसे जस्तो भएको छ ।’
अन्य वेलाको एक–दुई दिनको घर बसाइ नियमित कामबाट विश्राम जस्तै हुन्थ्यो। अहिलेको बाध्यात्मक बसाइ भने दिक्दारलाग्दो बनेको छ। यसको कारण हो, वैयक्तिक स्वतन्त्रताको हरण र महामारीको तनाव।

बन्दाबन्दीमा दैनिक कार्यतालिका बनाउन नजानेका वा नसकेका व्यक्ति भद्रगोल र अस्तव्यस्त अवस्थामा रहेका देखिन्छन्। राति ढिलोसम्म टेलिभिजन र ग्याजेट हेर्ने, बिहान ढिलो उठ्ने अनि उठ्नासाथ ग्याजेटमै झुन्डिने व्यक्ति दिनरात फुर्सदिलो हुँदाहुँदै व्यक्तिगत सरसफाइ गर्न समेत फुर्सद मिलाउन सकिरहेका छैनन्। सुताइको समय अनियमित भएसँगै खानपान र व्यायाममा आउने परिवर्तनले आलस्यता मात्र होइन, तनाव पनि बढाउन सक्छ।

शुरुशुरुमा भाइरस सङ्क्रमणको विषयलाई हल्काफुल्का मानेर ठट्टा गर्नेहरूले समाचारहरु हेर्दै जाँदा आफ्नै जीवन सङ्कटापन्न अवस्थामा रहेको महसुस गरेका छन्। कुन देशमा कति संक्रमित थपिए, कतिको मृत्यु भयो भन्ने समाचारमा अपडेट भइरहने व्यक्ति विश्वकपको स्कोरमा घोत्लिए जस्तै क्षणक्षणमा मोबाइल स्क्रिन हेर्दै बसेको समेत देखिन्छ। यस्ता खबरसँग अभ्यस्त हुँदै जाँदा सामाजिक सञ्जालमा प्राप्त हुने सूचना र अफवाहको पछि लागेर व्यक्तिगत तथा पारिवारिक जीवनमा क्षति पुरं‌याउने जोखिम सिर्जना हुन्छ।

त्रासदीपूर्ण समाचार र दृश्यको प्रभावस्वरुप ‘सेकेन्डरी स्ट्रेस’ का कारण व्यक्तिमा एन्जाइटी र छटपटी बढ्दै जान्छ। डर लाग्ने, काम गर्न मन नलाग्ने तथा शरीरको फूर्ति हराएको महसुस हुन्छ। यति हुँदैमा आत्तिनु भने हुँदैन। यस्ता लक्षणहरु महामारीजन्य असामान्य अवस्थाका कारण आएका सामान्य प्रतिक्रिया मात्र हुन्। तर लामो समयसम्म यस्तै लक्षण रहिरहे घातक नतिजा आउन सक्छ। यसैले प्रकोपका बेला आधिकारिक स्रोतबाट मात्र सूचना लिने सावधानी अपनाउनुपर्छ।

प्रकोपका बेला समाचार र सूचनाको अति सङ्कलन मानसिक स्वास्थ्यलाई क्षति पु¥याउने काम हो। सूचनाको भारीबाट सिर्जित दिक्दारीले पैदा गरेको मानसिक तनाव व्यवस्थापन गर्ने नाममा कसैले नशाको सहारा लिन पनि सक्छ। यसले शरीरको रोग प्रतिरोधी क्षमता मात्र कमजोर हुने होइन, पारिवारिक र सामाजिक सम्बन्धमा समेत गडबडी उत्पन्न हुन सक्छ।

बन्दाबन्दीका केही दिनका अनुभव र अभिव्यक्तिलाई हेर्दा महिलालाई भन्दा पुरुषलाई दिन बिताउन गाह्रो भएको देखिन्छ। अन्य काम गर्ने वातावरण नभएको अवस्थामा घरका ससाना काम गर्न नखोज्ने प्रवृत्तिले व्यग्रता र छटपटी बढाएको छ। एकातिर महामारीको भय सिर्जित ‘एन्जाइटी’ र अर्कातिर अस्तव्यस्त दैनिकीका कारण धेरै मानिसमा छटपटी बढ्दो छ। यसैले त भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै बन्दाबन्दीको अवस्था हेर्न सडकमा निस्कने तथा बरालिनेहरूको सङ्ख्या ठूलै छ।

व्यर्थका कुरा सामाजिक सञ्जालमा शेयर गर्ने तथा प्रकोपको त्रास बढाउने भिडियोहरु सञ्जालमा राख्नुको कारण पनि व्यक्तिको एन्जाइटी र छटपटी नै हो। छटपटी व्यवस्थापनको सही बाटो पहिल्याउन नसके खानपान, निद्रा र व्यायाममा एकैपटक आएको असामान्य परिवर्तनले मनोरोगी बनाउन सक्छ।

कोरोनाभाइरस सिर्जित असामान्य परिस्थिति र तनावको व्यवस्थापनको सबैभन्दा सटीक सूत्र भनेकै नियमित कार्यतालिका हो। दिनभर गर्ने कामको तालिका बनाई व्यक्तिगत सरसफाइ, योग, व्यायाम, पढाइ–लेखाइ, सन्तुलित र सात्विक भोजन, घरेलु काममा सहयोग एवम् इष्टमित्र र साथीभाइसँगको सम्पर्कमा व्यस्त हुने हो भने दैनिकी पट्यारलाग्दो पनि हुँदैन, दुव्र्यसन र मनोरोगको भय पनि रहँदैन। परिवारका सदस्यसँग कुराकानी गर्ने, घरेलु काममा हातेमालो गर्ने तथा टेलिभिजन र इन्टरनेटका समाचारमा बितिरहेको समय कटौती गरे मात्रै पनि सेल्फ–क्वारेन्टिनको छटपटी धेरै हदसम्म शान्त हुन्छ।

मनोवैज्ञानिक प्राथमिक उपचारमा हेर्ने, सुन्ने र सम्पर्क स्थापित गर्ने कुरालाई जोड दिइएको हुन्छ। आफ्नो सुरक्षालाई ध्यानमा राख्दै आफन्त वा साथीभाइसँग सम्पर्कमा रहँदा मनोबल उच्च हुने हुँदा क्वारेन्टिनको अवस्थामा मानव–मानवबीच भौतिक दूरी बढाउँदै सामाजिक दूरी घटाउने दिशामा अग्रसर हुनुपर्छ। टेलिफोन, इमेल वा अन्य सामाजिक सञ्जाल मार्फत सामाजिक सम्बन्धलाई मजबुत पार्दा शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बन्छ।

भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन् ।

 

प्रतिकृया दिनुहोस