कला/साहित्य शनिबार, चैत १५, २०७६

जोगीको संसार

हिमालखबर

जोगीको संसार

उपन्यास: निर्वेद लेखक: शैलेन्द्र अधिकारी प्रकाशक: शिखा बुक्स पृष्ठ: २५१ मूल्य: ३५० 

हाम्रो समाजमा अनेक संस्कार र संस्कृति छन्। लेखकले तिनै घटनालाई साहित्यको विषय बनाउने हुँदा पाठकलाई आफ्नै वास्तविक कथा पढ्दै गरेको अनुभूति हुन्छ। उपन्यासकार शैलेन्द्र अधिकारीले ‘निर्वेद’ मा जीवनलाई अध्यात्म र भौतिकवादको समष्ठिको रुपमा अथ्र्याएका छन्।

निर्वाणानन्दसँगै म पात्र तीर्थाटनका लागि हरिद्वार पुगेको छ। तर, ऊ निवर्वाणानन्दको साथ गुमाउँछ। निर्वाणानन्द हराएपछि म पात्रमा आएको तनावको अनुभूतिले हरेक पाठकसँग समानधर्मिता राख्छ। नयाँ ठाउँमा पुगेको म पात्रलाई निर्वाणानन्दले किन छोडे? छोड्ने नै थिए भने किन पु¥याए हरिद्वार? पाठकका मनमा यी प्रश्न उठाउन सक्नु लेखकको शक्ति हो।

गङ्गा किनारमा निर्वाणानन्दको चप्पल भेटिन्छ। अध्यात्ममा लिन भएको स्वामीको चप्पल भेटिएपछि म पात्र उसले आत्महत्या गरेको निश्कर्षमा

महेश क्षितिज

पुग्छ। उपन्यासकारले यहाँ रहस्य मात्र रचेका छैनन् जीवनको भौतिकवादी विश्लेषण गरेका छन्। आत्महत्या गरेको ठाउँमा निर्वाणानन्दले एउटा चिट छाडेका छन् र त्यहाँ लेखिएको छ, “मेरो व्यागमा एउटा ल्यापटप छ, त्यसभित्र निर्वेद भन्ने फाइल छ त्यो खोलेर पढ्नू है।”

निर्वाणानन्द को असली नाम नवराज हो। घर र गाउँमा बोलाउने नाम ‘नमे’ हो। उसलाई आफ्नै बाबुले घृणा गर्छन्। घृणाको कारण हो, ऊ मूल्याहा हुनु अर्थात् जन्म तिथिमा मूल पर्नु। यसरी हिन्दू संस्कारको कुरीतिलाई आधार बनाएर उपन्यासको सुरुवात गरिएको छ।

बुबाले आफूप्रति गर्ने घृणाले नवराजमा अभिघात पर्छ। त्यहीकारण उसमा मानसिक समस्या देखिन्छ। लेखकले मूल्याहा सन्तान जन्मेपछिको सामाजिक, सांस्कृतिक पाटोलाई गहिरिएर अथ्र्याएका छैनन्। त्यसकारण उपन्यासको आधार मानिएको कुसंस्कारप्रति लेखकको आलोचनात्मक चेत देखिँदैन।

म पात्र र निर्वाणानन्दको संवादमा दर्शनको गहिराई छ। मानिसले जन्मसँगै तृष्णा, भोग, ममता, राग लिएर आएको हुन्छ। त्यसबाट मानिस मुक्त हुन सक्दैन । वर्तमानसँग हरेक मानिस असन्तुष्ट हुन्छ। भौतिक संसारले मात्र मानिसका कामनाहरू पूरा गर्न सक्दैन। जीवनका यी यथार्थलाई कलात्मक व्याख्या र संवादमा उतार्न उपन्यास सफल भएको छ।

पात्रहरुबीच मात्र नभएर पात्रभित्र चलेको वैचारिक द्वन्द्व उपन्यासको सबैभन्दा शक्तिशाली पाटो हो। निर्वाणानन्द अस्थिर मनोवृत्तिको पात्र हो र उसको समाप्तिको कारण अस्थिर चिन्तन नै हो। वास्तवमा ऊ मोक्ष प्राप्तीकै लागि हरिद्वार पुगेको हुन्छ। उसको इच्छामरणको स्वार्थले म पात्र अपरिचित ठाउँमा अलपत्र पर्छ। निर्वाणानन्दको मृत्युले उपन्यासमा नयाँ मोड ल्याएको छ।

म पात्र थेसिसका लागि हरिद्वारको आश्राम पुगेको हुन्छ। तर, ऊ प्रायः आफ्नी प्रेमिकाको कुरा गरिरहन्छ। कुनै विषयलाई पनि गहिरिएर हेर्दैन। ऊ अकस्मात सन्यासमार्गतिर लाग्छ। म पात्रलाई मुख्य पात्रको जीवन र जीवन दर्शनमाथि अनुसन्धान गर्नका लागि उभ्याइएको छ। उपन्यासको यो सबैभन्दा सबल पक्ष हो।

पूर्वीय दर्शनको आधारमा उपन्यासको कथा बुनिएको छ। निर्वाणानन्दको मृत्युले चिहान अन्तिम सत्य भएको स्थापित गर्छ भने म पात्रको वैराग्यले जीवनको बोध गराउँछ। उपन्यासकारले निर्वेद शब्दलाई वैराग्यको रुपमा प्रयोग गरेका छन्। मूल पात्र नभइ म पात्र पनि वैराग्यमा गएको छ। तर, वैराग्यपछि मूलपात्र निर्वाणानन्दले जीवनको बाटो भेट्टाउँदैन। खासमा यो उपन्यास एउटा जोगीले देखेको संसार हो जो अध्यात्म र भौतिकवादको जालोमा जकेडिएको छ।

उपन्यासका घटनाक्रम सहज ढंगले बढेका छन्। तर, कथामा धेरै उतारचढाव सिर्जन गर्न भने लेखक चुकेका छन्। भाषाशैली तारिफ योग्य छ । हरेक अध्यायको समापनसँगै अब के होला भन्ने कौतूहलता सिर्जना हुन्छ । गहन विषयलाई सामान्यीकरण गरिएको छ ।

प्रतिकृया दिनुहोस