रिपोर्ट शुक्रबार, चैत १४, २०७६

'लकडाउन' मा खुल्ला त चार्ल्स शोभराजको 'लकअप'!

दीपक खरेल

'लकडाउन' मा खुल्ला त चार्ल्स शोभराजको 'लकअप'!
केन्द्रीय कारागारकाे गाेलघरमा चार्ल्स गुरूमुख शाेभराज

कारागार प्रशासन मार्फत हालै गृह मन्त्रालयतर्फ अगाडि बढाइएको रिहा गर्नुपर्ने १३ जना ज्येष्ठ कैदीहरुको नामावलीमा कुख्यात अपराधी चार्ल्स शोभराज पनि अटाएका छन्।

केन्द्रीय कारागार, सुन्धाराको गोलघरभित्र रहेका कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज सहित १३ जना ज्येष्ठ कैदीहरुको विवरण यतिबेला कारागार व्यवस्था विभागमा पुगेको छ।

केन्द्रीय कारागार प्रशासनले सर्वोच्च अदालतको ७ चैतको ‘फुल कोर्ट’ र ६ चैतमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकको निर्णयका आधारमा १३ जना ज्येष्ठ नागरिकको विवरण विभागमा पठाएको हो । विभागले कारागारहरुबाट प्राप्त विवरण गृह मन्त्रालयमा निर्णयका लागि पठाउने तयारी गरिरहेको छ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले उक्त विवरणमा शोभराजको पनि नाम रहेको पुष्टि गरे । उनले ७६ वर्ष पुगेका चार्ल्स समेतको नाम अन्य १३ जनासँगै पठाएको हिमाललाई बताए ।
यता, विभागले देशभरका कारागारबाट ज्येष्ठ कैदीहरुको सूची आएपछि एकसाथ निर्णयका लागि गृहमन्त्रालयमा पठाउने तयारी गरिरहेको छ । यदि गृहले प्राप्त नामहरु सोलोडोलो स्वीकृतीका लागि मन्त्रिपरिषदमा सिफारिस गरेमा ‘विकनी किलर’ का नामले कुख्यात शोभराज समेत रिहा हुनेछन्।

विभागका महानिर्देशक प्रदीपराज कणेलले पनि केन्द्रीय कारागारबाट प्राप्त ज्येष्ठ नागरिकहरूकाे विवरणमा चार्ल्स समेत समावेश रहेको बताए । “सरकारले निर्णय गर्ने हो,” उनले भने “हामीले सरकारले मागे अनुसार कारागारमा रहेका ज्येष्ठ नागरिकहरूकाे सूची पठाउने तयारी गरिरहेका छौं।”
कारागार प्रशासनले महान्यायाधिवक्ता कार्यालयको पत्रादेश अनुसार चार्ल्स सहित देशभरका कारागारमा रहेका ज्येष्ठ नागरिकहरूकाे सूची रिहाइको प्रक्रियाका लागि गृहमा पठाउन थालेको हो।

महान्यायाधिवक्ता खरेलले ज्येष्ठ ‘नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था र त्यसको कार्यान्वयनका सम्बन्धमा सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा भएका आदेशसमेतका आधारमा कैदमा रहेका ज्येष्ठ नागरिकलाई तत्काल कैद छुट दिने निर्णयका लागि गृह मन्त्रालयलाई लेखी पठाउने’ निर्णय गरेका थिए।

चार्ल्स शोभराज । तस्वीर: गेट्टी इमेज

सर्वोच्चले भन्यो रिहा गर

शोभराजले यसअघि नै सर्वोच्च अदालतमा ज्येष्ठ नागरिकलाई संविधानले दिएको सुविधा अनुसार रिहा हुन पाऊँ भन्दै निवेदन दर्ता गराएका छन् । विदेशी नागरिकको हत्या आरोपमा केन्द्रीय कारागारको गोलघरमा रहेका फ्रान्सेली नागरिक शोभराजका तर्फबाट अधिवक्ता शकुन्तला थापाले १९ कात्तिक २०७५ मा रिट निवेदन दर्ता गराएकी थिइन् ।

अधिवक्ता थापाले शोभराजको खस्कँदो स्वास्थ्य अवस्था तथा ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावली अनुसार रिहा गर्न परमादेशको आदेश माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन्।

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ अनुसार ७० वर्ष पूरा भई ७५ ननाघेको कैदीलाई ५० प्रतिशत कैद छुटको व्यवस्था गरेको छ । तर यो सुविधा नेपाली नागरिकका हकमा मात्र लागू हुन्छ । शोभराज असोज २०८० सालसम्मका लागि कैद भुक्तान गरिरहेका छन्।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको इजलासले शोभराजलाई कारागार ऐन र नियमावलीको प्रावधान अनुसार उमेरहदका कारण रिहा गर्नुपर्ने देखिएकाले तीन महीनाभित्र निर्णय गर्न सरकारलाई १२ फागुन २०७५ मा आदेश गरेको थियो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले २० कात्तिक २०७५ मा शोभराजलाई थुन्नुको कारण माग्दै सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो।

दुई वर्षअघि उच्च अदालत (तत्कालीन पुनरावेदन अदालत) पाटनले त्यसअघिको भक्तपुर जिल्ला अदालतको सर्वश्व सहित जन्मकैदको फैसलालाई सदर गरेपछि शोभराज यतिखेर त्यही सजायँ भुक्तानका क्रममा छन्।

न्यायाधीशद्वय बालकृष्ण उप्रेती र नारायणप्रसाद शाहको संयुक्त इजलासले भक्तपुरमा २०३२ सालमा हत्या गरिएका क्यानेडियन नागरिक लरेन्ट अर्मान्ड कारियाको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले १ असोज २०७२ मा गरेको सर्वश्व सहित जन्मकैदको फैसलालाई सदर गरेको थियो। भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

शोभराजले हदम्याद सकिएको मुद्दामा भक्तपुर अदालतले गरेको फैसलाले अन्याय भएको भन्दै बदर गरिपाऊँ भनी पुनरावेदनमा २४ वैशाख २०७३ मा मुद्दा दर्ता गरेका थिए । यसअघि शोभराजले कोन्नीको हत्यामा अदालतबाट भएको सर्वश्व सहित जन्मकैदको सजाय २०७१ मै भुक्तान गरिसकेका थिए।

चार्ल्सको अपराध यात्रा

६ पुस २०३२ मा भक्तपुरको पलाँसेस्थित अरनिको राजमार्गको दक्षिणतर्फ ढलमा अनुहार डढाएको शव फेला परेको थियो । स्थानीय भरत राना मगरको खबरमा पुगेको प्रहरीले त्यहाँ सबै लुगा फुकालिएको र अनुहार चिन्नै नसक्ने शव बरामद गरेका थिए । त्यतिबेला नखुलेको त्यो शवको पहिचान दुई दिन पछि काठमाडांैको मनहरा घट्नाबाट खुलेको थियो ।

भक्तपुरमा शव भेटिएको पर्सिपल्ट ८ पुस २०३२ मा विहान ७ बजे गस्तीमा निस्किएका प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आगो लगाएको र मुटुमा छुरा रोपेर हत्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला पारे । टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग नाङ्गो र मुटु लक्षित गरी चार पटक छुरी रोपिएको अवस्थामा फेला परेको शवको पहिचान पनि तत्कालै खुल्न सकेको थिएन ।

सोही समयमा धुलिखेल घुम्न गएका झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी पर्यटक नफर्किएको जानकारी आयो । प्रहरीले त्यही लजमा बस्दै आएका अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै भेटिएको झुम्का देखाएर मृतक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको पहिचान गरेको थियो ।

कोन्नी धुलिखेल घुम्न गएको सूचनाका आधारमा अनुसन्धानमा खटिएका प्रहरीले भक्तपुरमा विदेशी पुरुषको शव फेला परेको सूचना पाए । र, मृतक कोन्नीका प्रेमी लरेन्टको भएको खुल्यो । कोन्नी र लरेन्ट २८ मंसीर २०३२ देखि ओरियन्टल लजको कोठा नम्बर ९ मा बस्दै आएका थिए ।

प्रहरी अनुसन्धानमा यी दुवैको सम्पर्क होटल सोल्टी ओबराय (अहिले होटल सोल्टी) मा बस्ने भियतनामी नागरिकसँग रहेको सूचना फेला पर्‌याे । त्यसकै आधारमा प्रहरीले भियतनामी नभई भारतीय–चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेका थिए।

त्यही समयमा यहाँको हत्या प्रकृतिसँग मिल्ने गरी केही अघि थाइल्याण्डको बैंककमा पनि एक विदेशी नागरिक मारिएको सूचना नेपाल प्रहरीले पाएको थियो । नशालु पदार्थ खुवाई पेट्रोलियम पद्धार्थ हालेर आगो लगाएर गरिएको उक्त हत्याको प्रकृति कोन्नी हत्यासँग मेल खान्थ्यो ।

बैंककको हत्यामा संभावित हत्याराका रुपमा एलेन गोटियरको नाम आयो । प्रहरीको अनुसन्धानमा गोटियर र सोल्टी ओबरायमा बसेका हेनरिकस् विन्ताजा एकैझैं देखिएपछि दुवैलाई होटलमै निगरानीमा राखियो । र, अनुमति लिएर मात्र होटलबाट बाहिर निस्कन निर्देशन दिइयो । यसको केही समयमै उनीहरु एकाएक होटलमै सामान छाडेर बेपत्ता भए । पछि कुकीको असली परिचय मोनिक लेक्लर्क र हेनरिकस् चाहिँ चाल्र्स शोभराज रहेको खुलेको थियो ।

२८ वर्ष पछि काठमाडाैमै पक्राउ
प्रहरीलाई छक्याउँदै २८ वर्ष अघि भागेका शोभराज २ असोज २०६० मा रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परे । उनको पक्राउसँगै यहाँ रहेको २८ वर्ष अघिको हत्या र फर्जी राहदानीको मुद्दा ब्युँतियो ।

२०६० सालमा दोस्रोपटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको सजाय सुनायो । लरेन्टको मुद्दा भने मुलतवीमै रहेको थियो ।

कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो । सुरुमा चाल्र्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए । पछि प्रहरीसँगको बयान क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए ।

शोभराजलाई कोन्नीको हत्यामा सर्वश्व सहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको हत्याको मुद्दाको कारवाही पक्रिया अगाडि बढेको हो । पुनरावेदनले भक्तपुर अदालतकै फैसला सदर गरेसँगै शोभराजको जेल सजाय ९ वर्ष थपिएको हो ।

प्रतिकृया दिनुहोस