समाचार शुक्रबार, चैत १४, २०७६

हिमालपछि कान्तिपुर मिडिया ग्रुपका सबै प्रिन्ट संस्करण केही दिनलाई स्थगन

हिमालखबर

हिमालपछि कान्तिपुर मिडिया ग्रुपका सबै प्रिन्ट संस्करण केही दिनलाई स्थगन

कान्तिपुर मिडिया ग्रुपले आफ्नै सबै प्रिन्ट संस्करण केही समयको लागि स्थगन गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा बन्दाबन्दी लागू गरेसँगै पाठक, सहकर्मी कर्मचारी र आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर प्रिन्ट संस्करणहरू स्थगन गरेको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।

"आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् ", कान्तिपुरले विशेष प्रकाशकीयमा भनेको छ "त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन्  ।" कान्तिपुरले परिस्थितिमा सुधार आएपछि नियमित ग्राहकहरूले हाल बन्द गरिएको अवधिको पत्रिकाका अतिरिक्त अंक पाउने व्यवस्था मिलाइने जनाएको छ  ।

यस अघि हिमाल मिडियाले सूचना र समाचार झनै आवश्यक पर्ने समय  भएपनि विश्वभरि नै छापा (प्रिन्ट) पत्रकारितालाई कोरोना भाइरसले पारेको असरबाट नेपाल पनि अलग नरहेको भन्दै आफ्नो प्रिन्ट संस्करण स्थगन गरी डिजिटल प्लेटफर्म हिमालखबर डटकम (www.himalkhabar.com) लाई थप सशक्त बनाएर लैजाने जनाएको थियो ।

"महामारी विरुद्ध एक भई जुट्न नागरिक कर्तव्यको पालना र सम्पूर्ण हिमालकर्मीको स्वास्थ्यप्रति पनि सचेत हुँदै हिमालमिडिया प्रालिले साप्ताहिक हिमाल  खबरपत्रिका को ९ चैत, आइतबारको अङ्कपछि आफ्नो छापा संस्करणलाई अवस्था सामान्य नहुञ्जेलसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ", हिमालले आफ्नो विशेष प्रकाशकीयमा उल्लेख गरेको थियो ।

हिमालले आफ्ना नियमित ग्राहकको हकमा यसबीचमा अप्रकाशित अङ्क संख्या ‘सब्स्क्रिप्सन’ समाप्तिपछि जोडिने भन्दै नियमित पाठकसँग समय–समयमा छुट्टै न्यूजलेटरमार्फत सम्पर्कमा रहने प्रबन्ध मिलाउनले जनाएको थियो ।

कोरोनाभाइरसको महामारी तीव्र रुपमा फैलिरहेका बेला विश्वभरका सञ्चार संस्थाहरू प्रिन्ट संस्करणलाई बन्द गरेर डिजिटल प्लेटफर्म मार्फत काम गरिरहेका छन् । विश्वभर भाइरस नियन्त्रणका प्रयासहरू भई रहेपनि अवस्था जटिल बन्दै गएपछि उद्योग, कलकारखानालगायत सबै संघ संस्था केही समयको लागि बन्द गरिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोनाभाइरसको संक्रमणले विश्वभरिकै श्रम बजारमा गहिरो असर पर्ने प्रारम्भिक मूल्यांकन गर्दै यो वर्ष अढाई करोड कामदार बेरोजगार हुने र कामदारहरुले ३४ खर्ब डलरसम्म श्रम आय गुमाउन सक्ने अनुमान गरेको छ । 

प्रतिकृया दिनुहोस