थप समाचार शुक्रबार, चैत १४, २०७६

अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित, उछिन्यो चीन र इटालीलाई

हिमालखबर

अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित, उछिन्यो चीन र इटालीलाई

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा अमेरिकाले चीन र इटालीलाई पनि उछिनेको छ। त्यहाँ ८३ हजार ४३५ संक्रिमित फेला परिसकेका छन्।

जोहन हप्किन्स् विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्यांकलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार चीनमा अहिलेसम्म ८१ हजार ७८२ र इटालीमा ८० हजार ५८९ संक्रमित भएको पुष्टि भएको छ।

तर, मृत्युको हुनेको संख्या भने चीन र इटालीको तुलनामा अमेरिकामा किनै कम छ। त्यहाँ हालसम्म १२९५ जनाको मृत्यु भएको छ। मृतकको संख्या चीनमा ३२९१ र इटालीमा ८२१५ पुगिसकेको छ।


अमेरिकामा बिहिबार मात्र २३७ जनाको मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ। बुधबार पनि २२३ जनाको मृत्यु भएको थियो। त्यहाँ पछिल्लो दुई दिनमा झन्डै २० हजार संक्रमित फेला परेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकाले अत्यधिक परीक्षण गरेको हुनाले संक्रमितको संख्या धेरै भेटिएको बताएका छन्। उनले चीनले वास्तविक संक्रमितको संख्या लुकाएको आरोप पनि लगाएका छन्।

मार्चको सुरुमा अमेरिकाले आफ्ना नागरिकलाई १५ दिनका लागि सामाजिक अन्तरक्रियालाई कम गर्न आह्वान गरेको थियो। तर, त्यो निर्देशन बाध्यकारी नभइ ऐच्छिक थियो।

तर, संविधानले बाध्यकारी प्रतिबन्ध लगाउन सक्ने अधिकार सरकारलाई दिएको अधिकारीहरु बताइरहेका छन्। अहिलेसम्म अमेरिकाका २१ राज्यले आफ्ना नागरिकलाई घरैमा बस्न आग्रह गरेका छन्।

यसैबीच विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहान २४ हजार नाघेको छ। अहिलेसम्म पाँच लाख ३१ हजारभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये एक लाख २३ हजारभन्दा बढी निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस