अन्तर्वार्ता/विचार विहीबार, चैत १३, २०७६

महामारीको अन्त्य नभएसम्म... !

हिमालखबर

महामारीको अन्त्य नभएसम्म... !

- डा. नारायण ज्ञवाली

विश्व यतिबेला कोरोना (कोभिड १९) महामारीको सामना गरिरहेको छ । यो लेख लेख्दासम्म १९८ देशका पाँच लाखभन्दा बढी कोरानोभाइरसबाट संक्रमित भइसकेका छन् जसमध्ये २२ हजार माथिले ज्यान नै गुमाइसकेका छन्।

नेपालमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । नेपालको यो तथ्यांक गलत भन्ने कुनै त आधार छैन तर शंकाको छुट भने छ । सिंगो देशमा जम्मा एक–दुई स्थानमा मात्र यसको जाँच हुने व्यवस्था हुनुले धेरै संक्रमितको पहिचान नै नभएको पनि हुनसक्छ ।

हो, संक्रमण बढेसँगै अस्पतालहरूमा ज्वरो, खोकीका बिरामीको संख्या बढ्नु पर्ने हो, एक्कासी मृत्यु हुनेको संख्या बढ्नु पर्ने हो जस्ता तर्क सुनिनु गलत होइन । धेरैको त्रास छ, बल्ल नेपालमा कोरोना आयो, अब हामी बर्बाद हुनेछौं।

मेरो विचारमा भने नेपालमा कोरोनाका केशहरू पहिले नै भित्रिइसकेका छन् । तर, बुझ्नुपर्ने कुरा के हो भने, विभिन्न देशको भूगोल, मौसम, त्यहाँ पाइने पशुपक्षीसँग मानिसको सम्बन्ध, वनस्पति, त्यहाँ पहिलेदेखि देखिइआएका रोगहरू आदिले मानिसको रोगसँगको प्रतिरोधात्मक (इम्युनिटी) क्षमता निर्धारण गर्छ।

हुनसक्छ, नेपालीको प्रतिरोधात्मक क्षमता इटालियन वा अरु यूरोपेली राष्ट्रका नागरिक भन्दा फरक हुन सक्छ। नेपालमा पहिल्यैदेखि देखिआएका कोरोनाभाइरसका अरु प्रकार रुघाखोकी लगाउने भाइरस, अथवा, कोरोन जस्तै अरु आरएनए (राइबोन्युक्लिक एसिड) जीन भएका भाइरसहरूको संक्रमणले एक तहको प्रतिरोधात्मक एन्टीबडी बनाएको हुँदा संक्रमित कम देखिएका पनि हुनसक्छन्, यसैका कारण संक्रमितमा सामान्य लक्षण वा मृत्यु नै नभएको पनि हुनसक्छ ।

तर, यी त अनुमान मात्र हुन्, जसको वैज्ञानिक जाँच हुनै बाँकी छ । त्यसैले महामारीको अधिकतम् खराब परिस्थितिको सामना गर्न भने हामी तयार हुनै पर्छ।

कसरी बँच्ने, बचाउने?
अहिले जनमानसमा कोरोनाभाइरस बारे सामान्य जानकारी पुगेको छ। यद्यपि, ती जानकारीहरू कत्तिको प्रभावकारी रूपले उपयोग भइरहेका छन् भन्ने कुराले ठूलो महत्व राख्छ ।

छोटकरीमा भन्ने हो भने चिकित्सकहरूले भने झैं, ज्वरो र खोकी लागेका व्यक्तिबाट टाढा रहने, आफूलाई ज्वरो र खोकी लागेको छ भने अरूबाट टाढा रहने, खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने अनि प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्ने र साबुनपानीले मिचिमिची हात धुनाले संक्रमण अरुलाई सर्नबाट रोक्न सकिन्छ।

खोकी र ज्वरो आएको मानिसले मास्क लगाए मात्र पनि संक्रमण रोकथाम गर्न सकिन्छ । महामारीका बेला आफूलाई एक्ल्याउनु (सेल्फ आइसोलेसन) नै उपयुक्त हुने भएकाले भीडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिनु पर्छ। हात मिलाउनुको सट्टा नमस्कार गर्नु त अहिले झनै सान्दर्भिक बनेको छ ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सम्बन्धी परामर्श लिनका लागि १११५ हटलाइन नम्बरमा विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्ने व्यवस्था पनि मिलाएको छ ।

कोरोनाविरुद्धको भौतिक र मनोवैज्ञानिक लडाइँ
छिमेकी मुलुकहरू भारत, पाकिस्तान, बाङ्लादेशमा हरेक दिन संक्रमितहरू बढिरहँदा र नेपालमा पनि तीन दिनमा थप २ नयाँ केस दर्ता हुँदा सरकार सचेत बनेको देखिन्छ । यसअवधिमा सरकारले चालेका कदमहरू अपरिहार्य मात्र होइन, सराहनीय पनि छन् ।

हामीले स्वीकार्नुपर्छ, नेपाल अन्य विकसित देश जस्तो स्वास्थ्य सेवा मजबुत भएको मुलुक होइन। तर, अहिले रोगभन्दा पनि बढी भय र त्रासले मानिसलाई सताएको छ । के गर्ने, कसो गर्ने भन्ने कुराको आधार छैन। शिक्षित, अशिक्षित सबै द्विविधामा छन् ।

यदि आफूलाई कोरोनाको संक्रमण वा लक्षण देखा परे कहाँ जाने, के गर्ने? देश त बन्दाबन्दी ‘लक डाउन’ छ, घरबाहिर ननिस्कन आदेश जारी गरिएको छ, प्रहरी खटाइएको छ । यस्ता प्रश्नको जवाफ सहजै पाइने वातावरण सरकारले मिलाउन सकेको छैन । दैनिक मजदुरी गरेर साँझबिहानको जोहो टार्नेहरू निकै समस्यामा परेका छन्। उनीहरूलाई कोरोना भन्दा परिवारलाई कसरी पाल्ने, के खाने, भन्ने कुराको डर छ ।

स्वास्थ्यकर्मीहरू पनि त्रसित छन्। एक त उनीहरूसँग महामारीमा के, कसरी काम गर्ने भन्ने प्रोटोकल छैन, अर्को आत्मरक्षाका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी छ ।

देशका ठूला भनिएका अस्पतालहरूले कोरोना सम्भावित बिरामीको उपचार नगर्ने भन्ने जस्ता समाचारले साना र दुरदराजका चिकित्सकहरूको मनोबल गिराएको छ । अझ अस्पतालमा जहिल्यै उपेक्षित सरसफाइ कर्मचारीमा कोरोनाको त्रास भयानक हुनसक्छ ।

विगतका अनुभवहरूले के भन्छन् भने जब संक्रमण अत्यधिक हुनेछ, मानिसले प्रतिरोधात्मक क्षमता बारे पनि थाहा पाउँदै जानेछन् । सँगै अर्को ५ देखि ६ महीनासम्म संक्रमण विरुद्धका भ्याक्सिनहरू उपलब्ध हुनेछन्, जसको तयारी शुरु भइसकेको छ ।

नागरिक र सरकार दुवै पक्षले आपसमा सहयोग गर्दै विपत्को सामना गर्नुपर्छ । गर्नुपर्ने धेरै हुनसक्छ, तर पनि तलका न्यूनतम् पाँच विषय हरेक नेपालीले बुझ्ने गरी प्रष्ट पार्न सके जोखिमबाट धेरै हदसम्म जोगिन सकिन्छ, यसका लागि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालहरूको पनि प्रयोग गर्न सकिन्छ । मोबाइल सेवा प्रदायक कम्पनीले पनि अहम् भूमिका खेल्नसक्छन् ।

१. कोरोनाभाइरसको जस्तो लक्षण देखिए कहाँ जाने, कहाँ फोन गर्ने, कसलाई सम्पर्क गर्ने भन्ने जानकारी दिने । हरेक वडामा एउटा अस्थायी ज्वरो क्लिनिक बनाउने । त्यहींबाटै नमूना संकलन गर्ने । बिरामी साधारण रुघाखोकीका लक्षण लिएर वा हतोत्साही भएर आउन सक्छन्, त्यसैले निःशुल्क हेल्पलाइन फोनको व्यवस्था गरी, डाक्टर वा स्वास्थ्यकर्मीले फोनमै लक्षण सुनी क्लिनिक आउने वा सेल्फ आइसोलेसनमा बसी आफूलाई निगरानीमा राख्ने सल्लाह दिने।

२. महामारीसँगै आउने अर्को भयावह स्थिति भनेको मानसिक तनाव हो। वनको बाघले नखाए पनि मनको बाघले खाने भनिए झैं तनावका कारण जो कोहीमा आपसी शंका बढ्नसक्छ । यस्तो अवस्थामा सरकारले हेल्पलाइनमा मानसिक परामर्शको पनि व्यवस्था मिलाउने ।

३. उपचारमा प्रत्यक्ष संलग्न स्वास्थकर्मीको मनोबल बढाउन उचित पीपीई लगायत सुरक्षाका सबै साधनको प्रबन्ध मिलाउने ।

४. दैनिक मजदुरी गरेर पेट पाल्नेहरूलाई सरकारले दैनिकी समस्याको समाधानमा विशेष ध्यान दिई खाद्यान्न, अत्यावश्यक औषधि उपलब्ध गराउने ।

५. यस्तो बेला हुने अर्को समस्या भनेको संक्रमितको मृत्यु भइहालेमा अन्त्येष्टि कसरी गर्ने भन्ने हो । आफन्त समेत नजिकिन डराउने यो बेला हाम्रो संस्कार र परम्पराले धेरै कुरामा साथ नदिन सक्छ, तर अन्त्येष्टिमा न्यूनतम सामग्रीबाहेक, ग्लब्स, मास्क, डिस्पोजेबल गाउन लगायतको व्यवस्था स्थानीय सरकारले दिने व्यवस्था मिलाउने ।

कहिले हुन्छ त महामारीको अन्त्य ?
इतिहासका विभिन्न कालखण्डमा आएका महामारीहरूजस्तै कोरोनाभाइरस महामारी पनि अवश्य रोकिनेछ।

विगतका अनुभवहरूले के भन्छन् भने जब संक्रमण अत्यधिक हुनेछ, मानिसहरुमा कोरोनाभाइरसविरुद्धको प्रतिरोध क्षमता विकास हुँदै जानेछ। सँगै अर्को ५ देखि ६ महीनासम्म संक्रमण विरुद्धका भ्याक्सिनहरू उपलब्ध हुनेछन्, जसको तयारी शुरु भइसकेको छ ।

यी दुवै प्रकारबाट महामारी मत्थर हुनेछ । तर, यसो हुनुअघि महामारीबाट विश्वले ठूलो मूल्य चुकाइसक्नेछ ।

परीक्षणको समय भएकाले संक्रमितको संख्या बढ्नसक्छ, संख्या बढ्दैमा थप आतंकित हुनु समस्याको समाधान होइन । तथ्य बुझौं, ‘लक डाउन’लाई नागरिकहरूले साथ र निरन्तरता दिऔं। अहिलेका लागि सबैभन्दा ठूलो उपचार यही हो ।

(डा.ज्ञवाली हाल अष्ट्रेलियाको क्विन्स्ल्यान्ड मेडिकल रिसर्च इन्स्टिच्युटका भाइरोलोजिष्ट हुन् । उनी कोरोना, डेंगीजस्ता भाइरसका भ्याक्सिन तथा औषधिहरूको खोजी परियोजनाहरूमा संलग्न छन् ।)

प्रतिकृया दिनुहोस