समाचार विहीबार, चैत १३, २०७६

बन्दाबन्दीमा ‘उज्यालो’ उपत्यका

हिमालखबर

बन्दाबन्दीमा ‘उज्यालो’ उपत्यका
तस्बीरहरुः मनिष महर्जन

नेपाल भाषामा खुसीको अर्थ हो नदी । अर्थात् काठमाडौंको सामाखुसीको नाम नदीसँग जोडिएको छ । त्यो नदी अहिले नालामा परिणत भइसकेको छ । तर पनि वर्षामा बाटोमा भेल बगेर यसले आफूलाई ढल बनाएका, आफूमाथि अतिक्रमित गरेका मान्छेहरुसँग रिस फेर्छ सायद । कोरोनाभाइरसको महामारी रहेको विश्वमाझ नेपाल पनि बन्दाबन्दी (लकडाउन) मा छ । सामाखुसी पनि यस्तै बन्दाबन्दीमा छ । यी तस्वीरहरु यही बन्दाबन्दीमा सामाखुसीबाट खिचिएको छ ।

तस्वीरमा काठमाडौं शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यकाका पहरेदार बनेर उभिएका पर्वतलगायत थुप्रै कुरा देखिन्छ । बन्द शहरले रातका बत्तीहरुमार्फत आफ्नो उपस्थिती जनाइरहेको हुनसक्छ, या त यो उज्यालो हाम्रो जीवनप्रतिको जिजीविषा पनि हुनसक्छ । बन्दाबन्दीमा देखिएको अन्धकार चिर्ने उज्यालो सबैतिर देखिनुपर्छ । र, यो त्यतिबेला मात्र सम्भव छ, जब हामी महामारीबाट बँच्न बन्दाबन्दीलगायतका केही समय आपसी दूरी कायम राख्ने छौं, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नेछौं ।

नबिसौं, यो अन्धकारको उज्यालो भोलिको सूर्यको पखाई हो, जस्तो कि नेवारी परम्परामा पहिलो रजस्वलामा गुफा बसेकी किशोरी १२ औं दिन पूजाआजा सकेर सूर्यको दर्शन गर्न निस्किन्छिन् । किशोरीको ‘बाह्राः’ १२ औं दिनमा सकिए झैं आशा गरौं हाम्रो बन्दाबन्दी पनि चाँडै सकिनेछ ।  


तस्बीरहरुः मनिष महर्जन

प्रतिकृया दिनुहोस