समाचार विहीबार, चैत १३, २०७६

पीपीईको अभाव विश्वभर, डब्लुएचओले भन्यो– स्थानीयस्तरमै बनाउन सकिन्छ

हिमालखबर

पीपीईको अभाव विश्वभर, डब्लुएचओले भन्यो– स्थानीयस्तरमै बनाउन सकिन्छ
तस्वीर सौजन्यः दिनेश श्रेष्ठ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले व्यक्तिगत सुरक्षाका पोशाक (पीपीई) आपूर्ति प्रणालीमा पुगेको अवरोधका कारण विश्वभर अभाव भएको जनाएको छ। अभाव न्यूनीकरणका लागि स्थानीयस्तरमा उत्पादन भएका सुरक्षित पीपीई प्रयोग गर्न सकिने डब्लुएचओले उल्लेख गरेको छ।

डब्लुएचओले कोरोना भाइरस (कोभिड–१९) श्वासप्रश्वाससँग सम्बन्धित रोग भएकाले इबोलाबाट संक्रमित र शंकास्पद बिरामीको उपचारमा प्रयोग गर्ने जस्तो जटिल प्रकृतिको पीपीई आवश्यक नपर्ने उल्लेख गरेको छ। ईबोला लागेका र शंकास्पद बिरामीको उपचारमा शिरदेखि पाइतालासम्म शरीरको सम्पूर्ण अंग छोपिने कभरल्स भनिने पीपीई प्रयोग हुन्छ।

डब्लूएचओले प्रकाशन गरेको पीपीई प्रयोग सम्बन्धि निर्देशिकामा भनेको छ, “इबोला र कोभिड–१९ भाइरस सर्ने तरिका फरक भएकाले अहिले इबोला भाइरसको उपचार लागि चाहिने भन्दा फरक पीपीई प्रयोग गर्न सकिन्छ।”

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले उत्पादन गरेको पीपीई

अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी) ले पनि ‘आइसोलेसन गाउन’ लाई नै पीपीईको विकल्पमा प्रयोग गर्न सकिने निर्देशिका जारी गरेको छ। तरल पदार्थ प्रतिरोधी र सुरक्षात्मक कपडाबाट पनि ‘सर्जिकल’ र ‘आइसोलेसन गाउन’ बनाउन सकिने सीडीसीले जनाएको छ।

तर, गाउन बनाउन प्रयोग गरिने त्यस्ता कपडा सुरक्षित हुनुपर्छ। संक्रमित वा शंकास्पद बिरामी हेर्ने क्रममा स्वास्थ्यकर्मीले संक्रमण नहुने र ‘डिस्पोज’ गर्न मिल्ने गाउन प्रयोग गर्नुपर्छ।

जनस्वास्थ्यविद् डा. महेश मास्के डब्लुएचओ र सीडीसीले पीपीई अभावलाई ध्यान दिएर लचकता अपनाएकोतर्फ नेपाली चिकित्सकहरुको पनि ध्यान आकर्षित हुनुपर्ने बताउँछन् । 

त्रिवि शिक्षण अस्पतालका डा. सरोज धिताल पनि शरीरका अंग छोप्ने ‘वाटरप्रुफ’ कपडा तथा अनुहार छोप्ने पीपीई देशभित्रै बनाएर प्रयोग गर्न मिल्ने बताउँछन्। उनी भन्छन्, “अभावको वेला सुरक्षाको उपाय अपनाउँदै भएको पीपीई प्रयोग गर्नुपर्छ। बनाउनै नसकिने यो असाध्यै जटिल रकेट साइन्स होइन।”

मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी पनि स्थानीय स्रोत साधनको प्रयोग गरेर पीपीई उत्पादन गर्न सकिने बताउँछन् । यसअघि राष्ट्रिय आविश्कार केन्द्र र विभिन्न अस्पतालहरुले उत्पादन गर्ने पीपीईको गुणस्तरमा आंशका गर्दै चिकित्सकहरुले नै प्रश्न उठाउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस