विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०३५८

हालसम्म संक्रमित

२३६६५७४

निको भएका

३४७९०७

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । १०ः१५ बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार विहीबार, चैत १३, २०७६

कोभिड-१९ का कारण विश्वभरिका अढाई करोड कामदार बेरोजगार हुनसक्ने, ३४ खर्ब डलर आय गुम्ने

हिमालखबर

कोभिड-१९ का कारण विश्वभरिका अढाई करोड कामदार बेरोजगार हुनसक्ने, ३४ खर्ब डलर आय गुम्ने

संयुक्त राष्ट्रसंघ अन्तर्गतको एक एजेन्सीले नयाँ कोरोनाभाइरस (कोभिड–१९) का कारण सन् २०२० मा विश्वभरिमा २ करोड ५० लाखसम्म कामदार बेरोजगार हुनसक्ने आकलन सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोनाभाइरसको संक्रमणले विश्वभरिकै श्रम बजारमा गहिरो असर पर्ने प्रारम्भिक मूल्यांकन गर्दै यो वर्ष कामदारहरुले ३४ खर्ब डलरसम्म श्रम आय गुमाउन सक्ने अनुमान गरेको हो।

यद्यपि, अन्तर्राष्ट्रिय समन्वयमा आधारित नीतिगत कारबाहीमार्फत यस्तो भयावह अवस्था कम गर्न सकिने आईएलओले जनाएको छ।

संगठनको ‘कोभिड–१९ र कामकाजी विश्वः प्रभाव र कारबाही’ शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले कार्यस्थलमा श्रमिकको सुरक्षा, अर्थव्यवस्थालाई सहयोग तथा कामदारको रोजगारी र आम्दानी कायम राख्न बृहत् र समन्वयकारी उपाय अगाडि सार्न आह्वान पनि गरेको छ ।

आईएलओले अगाडि सारेको उपायहरु अन्तर्गत सामाजिक सुरक्षा, रोजगारीलाई कायम राख्न सहायता (छोटो अवधिको काम, वैतनिक अवकाश तथा अरु सहायता) र साना तथा मझौला उद्योगलाई वित्तीय सहायोग र कर छुटको प्रस्ताव छन्।

कति कामदारले रोजगारी गुमाउनेछन् भन्ने विषय नयाँ कोरोनाभाइरसको समस्या कहिले सुल्झन्छ र अर्थतन्त्रमा कतिसम्म प्रभाव पर्छ भन्नेमा निर्भर हुने संगठनले जनाएको छ। संगठनले तीन अवस्थाको परिकल्पना गर्दै सबैभन्दा खराब अवस्थामा अढाई करोडसम्म कामदारले रोजगारी गुमाउनसक्ने आकलन गरेको छ।

प्रतिवेदनका अनुसार, सन् २०२० मा कोरोनाभाइरसका कारण विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २ प्रतिशत गिरावट आए ५३ लाख कामदारले रोजगारी गुमाउनेछन्। विश्व जीडीपीमा ४ प्रतिशतको गिरावट आए १ करोड ८३ लाखले र ८ प्रतिशतको गिरावट आएमा २ करोड ४७ लाखले रोजगारी गुमाउनेछन्। सन् २००८÷०९ को आर्थिक मन्दीले विश्वभरिका २ करोड २० लाख कामदारको रोजगारी खोसेको थियो।

आईएलओले रोजगारीको समय र ज्याला समेत घट्ने हुँदा अर्धबेरोजगारको संख्या पनि बढ्ने जनाएको छ । त्यस्तै, आवागमनमा अवरोधका कारण स्वरोजगारीमा पनि असर पर्ने अनुमान छ।

कामदारहरुले रोजगारी गुमाउनुको अर्थ उनीहरुको आय बन्द हुनु हो। यसले गरिबी र भोकमरी मात्रै बढाउँदैन, वस्तु तथा सेवाको माग घटाएर अर्थतन्त्रलाई थप कमजोर पनि बनाउँछ। ठूला औद्योगिक देशहरुको अर्थतन्त्र सर्वसाधारणले गर्ने वस्तु र सेवाको माग र खपतमा आधारित हुन्छ। गरीबीको रेखाभन्दा केही माथि रहेका श्रमिकहरुले रोजगारीका अवसर गुमाउँदा उनीहरु गरीबीको रेखामुनि धकेलिन्छन्।

आर्थिक क्रियाकलापको गिरावटका कारण आयमा दबाब परेर विश्वभरिमा न्यूनतम ८८ लाखदेखि अधिकतम ३ करोड ५० लाखसम्म श्रमिकलाई गरीबीको रेखामुनि वा छेउछाउमा धकेल्ने संगठनको आकलन छ ।

आईएलओले यो वर्ष विश्वभरिका कामदारले कम्तीमा ८ खर्ब ६० अर्ब अमेरिकी डलर र बढीमा ३४ खर्ब अमेरिकी डलरसम्म श्रम आय गुमाउनसक्ने अनुमान गरेको छ।

नेपाली कामदारले पनि रोजगारी गुमाउने जोखिम

कोरोनाभाइरस संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले पनि रोजगारी गुमाउने जोखिम बढेको छ। खाडी राष्ट्र तथा मलेशिया र कोरियामा गरेर करीब ४० लाख नेपाली वैदेशिक रोजगारीमा गएको अनुमान छ। वैदेशिक रोजगारीबाट नेपालले गत आर्थिक वर्ष २०७५/७६ मा रु.८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्र्याएको थियो।

कोरोनाभाइरसको विश्वव्यापी महामारीको छाया संसारभरिका अर्थतन्त्रमा गहिरो ढंगमा पर्ने देखिइसकेको छ। अर्थशास्त्रीहरुले सन् २००८ को आर्थिक मन्दी भन्दा अर्थव्यवस्था तथा रोजगारीमा अहिलेको संकट गम्भीर हुने आकलन गरेका छन्।

प्रतिकृया दिनुहोस