टिप्पणी शुक्रबार, चैत १४, २०७६

सधैंको महामारी सडक दुर्घटना

हिमालखबर

सधैंको महामारी सडक दुर्घटना
तस्वीर: बिक्रम राई
सुरेन्द्र फुयाल

गएको १४ फागुनमा नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सीपी मैनाली र उनको परिवारका सदस्य बर्दिबास नजिकै कार दुर्घटनामा घाइते भए ।

त्यसअघि २९ माघमा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मिला चढेको स्कुटरलाई धादिङको गजुरीमा तीव्र गतिमा हुइँकिरहेको बसले ठक्कर दियो । नजिकैको क्लिनिक नपुर्‍याउँदै महिमाको निधन भयो भने बहिनीको उपचारका क्रममा काठमाडौंमा निधन भयो ।

अघिल्लो वर्ष मात्र नेपालका सडकहरूमा करीब २८०० मानिसको मृत्यु भयो, अर्थात् सरदर दैनिक ७ जनाको सडक दुर्घटनाकै कारण मृत्यु भइरहेको छ । सडक दुर्घटनाकै कारण कति जनसंख्या पीडित छन् यसको यकिन तथ्याङ्क उपलब्ध छैन तर हजारौं नागरिक गम्भीर चोटपटकबाट आजीवन अपाङ्ग जीवन बिताउन बाध्य छन् ।

जति धेरै तथ्याङ्कमा घोत्लियो, उति भयावह दृश्य देखिन्छ, सडक दुर्घटनाको । विगत १० वर्षमा हाम्रा सडकमा १७ हजार भन्दा बढीको मृत्यु भएको छ, जुन माओवादी सशस्त्र द्वन्द्वको दशकमा मारिएका भन्दा बढी हो । नेपालमा ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको मृत्युको मुख्य कारणमध्ये सडक दुर्घटना पनि मानिएको छ ।

स्वीडेनको स्टकहोममा गएको ७–८ फागुनमा सडक सुरक्षा सम्बन्धी तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन भयो । सम्मेलनमा नेपालबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहभागी भए । मन्त्री भएको छोटो समय भए पनि नेम्वाङमा सडक सुरक्षाको समझ देखियो ।

“हामीकहाँ धेरै नयाँ सडक विस्तार भएका छन् तर राजमार्गमा हुनुपर्ने पूर्वाधारको कमी र सडक अनुशासनको कार्यान्वयन नहुनु विडम्बना बनेको छ । हामीले असाध्यै गम्भीर भएर काम गर्नुपर्ने भएको छ”, मन्त्री नेम्वाङले पंक्तिकारसँग भने ।

संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आयोजनामा सम्पन्न उक्त सम्मेलनमा सहभागी १४० देशसँगै नेपालले पनि सन् २०३० सम्ममा सडक दुर्घटनाको संख्या आधा घटाउने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धतालाई स्टकहोम घोषणापत्र नाम दिइएको छ ।

ओखतीको खोजी

स्टकहोम सम्मेलन चलिरहेका वेला चीन हुँदै विश्वमा फैलिरहेको कोभिड–१९ को त्रास चलिरहेको थियो । डब्लुएचओले दुईदिने सम्मेलनको अवधिमै मात्र विश्वमा सडक दुर्घटनाबाट झण्डै ७ हजार मानिसको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गर्‍यो । जबकि पछिल्लो झण्डै तीन महीनायता ६ चैतसम्म कोभिड–१९ बाट योभन्दा बढी ८ हजार ९७० जनाको ज्यान गएको छ ।

चिकित्सा विज्ञानको परिभाषामा सडक दुर्घटनालाई महामारी भन्न मिल्दैन । तर, मानवीय क्षतिको हिसाब गर्ने हो भने विश्वमा अकाल मृत्युको सबैभन्दा ठूलो कारक सडक दुर्घटना नै हो । त्यसकारण पनि सडक दुर्घटना सबैभन्दा ठूलो ‘महामारी’ हो । तर, कोभिड–१९ विश्वका लागि नयाँ र रहस्यमय महामारी भएकाले पनि हुनसक्छ, सडक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको खासै चर्चा भएन ।  

डब्लुएचओका अनुसार, सडक दुर्घटनामा विश्वभर वर्षमा १३ लाख ५० हजार व्यक्तिको मृत्यु र ५० लाखसम्म घाइते हुने गरेका छन् । “प्रत्येक दिन विश्वका सडकहरूमा मानिसहरू भकाभक मरिरहेका छन्, यो भनेको अति हो”, सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हनम गेहब्रेयसस्ले भने, “जबकि अधिकांश सडक दुर्घटना भइरहेकै विधि र रणनीति मार्फत धेरै हदसम्म रोक्न सकिन्छ ।”

डब्लुएचओका अनुसार नेपाल, बाङ्लादेश, भारत, पाकिस्तान र श्रीलङ्का जस्ता दक्षिण एशियाली तथा मध्यम आय भएका देशहरूमा सडक दुर्घटनाबाट हुने मृत्युदर सबैभन्दा बढी छ । राजमार्गमा हुने मृत्युहरूमध्ये ९३ प्रतिशत गरीब देशमा हुने गरेका छन् ।

मूलतः क्षमताभन्दा बढी यात्रु लिएर कमजोर पहाडी सडकमा गुड्ने जीप र ट्राफिक सङ्केत जस्ता आधारभूत सुरक्षा सुविधाको अभाव रहेका राजमार्गमा तीव्र गतिमा हुइँकिने बस दुर्घटनाका मुख्य कारण हुन् ।

शहरहरूमा ९० प्रतिशतभन्दा बढी मृत्यु मोटरसाइकल चालक र पैदल यात्रीको हुन्छ । नेपालका सडकहरूमा अहिले लगभग २४ लाख सवारी साधन छन् । तीमध्ये धेरै दुईचक्के छन् । काठमाडौं उपत्यकामा मात्रै ८ लाख मोटरसाइकल छन् । 

संयुक्त राष्ट्रसंघले सडक यातायात सम्बन्धी दुर्घटनाबाट हुने मृत्यु र चोटपटक बढ्न नदिने प्रस्ताव गर्दै २०११–२०२० लाई ‘सडक सुरक्षाको विश्वव्यापी दशक’को रूपमा मनायो । यस अवधिमा प्रभावकारी कानून; सुरक्षित सडक र सवारी साधन; हेलमेट र सिट बेल्टको अनिवार्य प्रयोग, गति नियन्त्रण आदि सुनिश्चित गर्न आंशिक सफलता प्राप्त भएको राष्ट्रसंघको ठहर छ ।

इन्टरनेशनल रोड एसेस्मेन्ट प्रोग्रामले आफूसँग भएको सुरक्षा अभिलेख विश्लेषण गरी सडक मूल्याङ्कन गरेर चेतना जगाउने प्रयत्न गरिरहेको छ । यसका लागि ‘भ्याक्सिन फर रोड्स’ कार्यक्रम पनि चलाइरहेको छ, जसमा ‘तीन तारा गुणस्तर’ अर्थात् कम्तीमा सडकमा तीन वा त्योभन्दा बढी लेन, पैदलयात्रु हिंड्ने बाटो लगायतको व्यवस्था गरिएको हुन्छ ।

नेपालमा यस्ता सडक असाध्यै कम छन् । यहाँका अधिकांश सडकहरूले पाँचमध्ये एउटा तारा मात्र पाएका छन् । अघिल्लो एक दशकमा जथाभावी बनाइएका सडकले भू–स्खलन मात्र होइन सडक दुर्घटना पनि बढेका छन् ।

बेलायतको ब्रिस्टोलस्थित वेस्ट अफ इङ्गल्याण्ड विश्वविद्यालयमा कार्यरत नेपाली अनुसन्धानकर्ता पुष्पराज पन्त पैदल यात्रुहरूका लागि जेब्राक्रसिङ, साइकल लेन र ट्राफिक चिह्नको कमी, पहाडका घुमाउरा सडकमा बत्ती र दुर्घटना हुन रोक्ने रेलिङहरू नभएकोमा चिन्ता व्यक्त गर्छन् ।

“हामीसँग जटिल रोगहरूसँग लड्न खोप छ तर सडक दुर्घटना कम गर्ने औषधि नभए जस्तो देखिन्छ”, उनी भन्छन् । उनका अनुसार; शिक्षा, सुधारिएको पूर्वाधार र सुरक्षित सवारी साधन सडक सुरक्षा सुधारका लागि महत्वपूर्ण छन् ।

सम्मेलनको उद्घाटनमा स्वीडेनका राजा कार्ल सोह्रौं गुस्ताफले बडो रोचक तथ्य सुनाए । उनले सन् १९७० को दशकमा स्वीडेनका सडकहरूमा हरेक वर्ष २०० भन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको तर अहिले यो संख्या १५ मा झरेकाे बताए ।

“दुर्घटनाबाट मानिसको जीवन बचाउन धेरै विधि प्रयोग गर्न सकिन्छ, हाम्रा आफ्नै अनुभव पनि संसारलाई काम लाग्न सक्छ”, उनले भने । उनको भनाइमा पनि, क्षतिलाई आकलन गरी अब सडक सुरक्षालाई पनि विश्वका अन्य स्थायी चुनौती स्वास्थ्य, जलवायु परिवर्तन, समानता, गरीबी र मानवअधिकार जस्तै हेर्नुपर्ने वेला भइसकेको छ ।

प्रतिकृया दिनुहोस