जर्मनीले नेपालबाट आफ्ना नागरिक लैजाने
कोरोनाभाइरसको महामारी रोकथामका लागि सरकारले बन्दाबन्दी गरेपछि जर्मनीले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्दार गरेर स्वदेश फिर्ता लैजाने भएको छ। भोलि (शुक्रबार) र शनिबार कतार एयरवेजको एक–एक उडानबाट आफ्ना नागरिक लैजाने जर्मन दूतावासको तयारी छ।
“आफ्ना नागरिक लैजान जर्मन दूतावासले फोनबाट दुई वटा उडान बुकिङ गरेको जानकारी आएको छ” नेपाल एशोसिएसन टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्यूत गरागाईंले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको समन्वयमा विदेशी यात्रु पठाउन आवश्यक तयारी थालिसकिएको छ। नेपालमा अहिले फ्रान्स र जर्मनीका गरी गरी करीब पाँच सय जना रहेको अनुमान छ। ती नागरिकलाई दुई उडानबाट लैजाने तयारी गरिएको हो।
अन्नपूर्ण पदयात्रामा गएका दुबै देशका नागरिकलाई आज र भोलिमा काठमाडौं ल्याइसकिने जनाइएको छ। समन्वय गरी ६० जनालाई काठमाडौं ल्याइसकिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताए। उनका अनुसार बिहीबार बिहान बुद्ध र यती एयरबाट पोखरामा रहेका जर्मनी नागरिक ल्याइएको छ। यस्तै, तारा एयरको विमान मार्फत सोलुखुम्बुको लुक्लामा रहेका १३७ जनामध्ये १६ जना ल्याइने भएको छ।
कतिपय विदेशी लुक्लामै रमाएर अहिले फर्कन नचाहेको र फर्कन चाहनेलाई मात्र ल्याउन लागिएको पनि रेग्मीले जानकारी दिए। उनका अनुसार, लुक्ला क्षेत्रमा अलपत्र परेका विदेशी नागरिकलाई बोर्ड र खुम्बु गाउँपालिकाको समन्वयमा निःशुल्क खाने र बस्ने व्यवस्था मिलाइएको छ।
मुक्तिनाथ जान आएका र पोखरामा अलपत्र परेका २८ जना भारतीय नागरिकलाई पनि बोर्डले भोलि भारत पठाउने भएको छ। ती नागरिकलाई भने स्थलमार्गबाट पठाउन लागिएको बोर्डले जनाएको छ।
नेपाल आएर पर्यटन बोर्डबाट पदयात्रा अनुमति लिएका र स्वदेश फर्कन नपाएका विदेशी नागरिक करीब १० हजार रहेको बोर्डका सीईओ रेग्मीले बताए। उनका अनुसार, कुन मुलुकका कति नागरिक छन् भन्नेबारे पदयात्रा अनुमति लिएको आधारमा तथ्यांक संकलन भइरहेको छ। फर्कन चाहनेलाई पठाउने बन्दोबस्त मिलाउने उनले बताए।
लुक्लाबाट पर्यटक उद्दार गर्न तारा एअरले विमान पठाउँदै
बन्दाबन्दीका कारण दुई दिनदेखि लुक्लामा अलपत्र परेका १४ जना फ्रान्सेली पर्यटकको उद्धार गर्न तारा एअरले विमान पठाएको छ।
काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्धार गर्न ताराको विमान गएको हो।
तारा एअरको १८ सिट क्षमता भएको ट्वीनअटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ।