कोरोना महामारी: जोखिमको आकलन र पूर्वतयारी नगर्दा इरानलाई आपत्
कोरोनाभाइरस (कोभिड-१९) महामारीको असर सबैभन्दा बढी परेका देशहरुमध्ये इरान पनि एक हो। इरानमा २७ हजारभन्दा बढी मानिसलाई भाइरसको संक्रमण भएको छ भने मृतकको संख्या २ हजार नाघिसकेको छ।
यद्यपि सरकारले वास्तविकभन्दा कम तथ्याङ्क देखाइरहेको आरोप आलोचकहरुको छ। उनीहरुले इरान सरकारले कोरोना जोखिमलाई कम गरेर प्रस्तुत गरेको टिप्पणी गरेका छन्।
१९ फेब्रुअरीमा गरिएको पहिलो घोषणामा त्यहाँको सरकारले कोरोनाबाट कति पनि नआत्तिन जनतालाई आग्रह गरेको थियो। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले 'इरानका दुश्मनहरुले खतरालाई बढाइँचढाइ गरेर देखाएको' आरोप लगाएका थिए।
यसको एक सातापछि त्यहाँ संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्यो। त्यति वेला पनि राष्ट्रपति हसन रूहानीले सर्वोच्च नेताकै शब्द दोहोर्याउँदै 'षड्यन्त्र र देशका शत्रुको डर पैदा गर्ने प्रयास' भएको टिप्पणी गरे। कोरोनाको संक्रमण सम्बन्धी खबरलाई राष्ट्रपति रुहानीले देशलाई पछाडि धकेल्ने प्रपञ्चको संज्ञा मात्र दिएनन्, इरानी जनतालाई आम जनजीवन पूर्ववर्त ढंगले चलाइरहन आह्वान पनि गरे।
महामारीलाई पनि राजनीतिक रङ दिएर बस्ने नेताहरुको यस्तो प्रवृत्तिले कोरोनाभाइरस संक्रमण कति गम्भीर प्रकृतिको हो भन्ने संवेदनशील पाटो बेवास्तामा पारिदियो, र सावधानीका लागि तत्कालै कदम चालिहाल्नुपर्ने विषय चासोमा परेन।
केही समय अघि इरानी टेलिभिजन कार्यक्रममा कोरोनाभाइरस अमेरिकाले बनाएको जैविक हतियार हुनसक्ने आशंका व्यक्त गरिएको थियो। सर्वोच्च नेता खामेनेईले जैविक आक्रमणको विषयमा ट्विट नै गरेका थिए।
अन्तत: तीव्र रुपमा फैलियो भाइरस
इरानमा कोरोनाभाइरसको संक्रमण शुरु भएको १६ दिनमै सबै ३१ प्रान्तमा फैलिएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, सन् २०१६ मा इरानको जनसंख्या ८ करोड २ लाख ७७ हजार थियो र उसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६.९ प्रतिशत (२०१४) हिस्सा स्वास्थ्य क्षेत्रमा खर्चन्छ। यति हुँदाहुँदै पनि कोरोनाभाइरस विरुद्धको लडाइँमा इरानलाई हम्मेहम्मे परिरहेको छ।
उसले अमेरिकाले सहयोगका लागि राखेको प्रस्ताव पनि अस्वीकार गरिसकेको छ। इरानी सर्वोच्च नेता खामेनेईले अमेरिकामाथि भरोसा गर्न नसक्ने बताएका थिए।
यो भनाइ त्यो समय आएको थियो, जतिवेला संक्रमणको जोखिमका कारण कतै पनि यात्रा नगर्न गरिएको अपिलका बाबजुद इरानीहरु नयाँ वर्ष मनाइरहेका थिए। नयाँ वर्ष मनाउन हजारौं सर्वसाधारण पारिवारिक घुमघामका लागि क्यास्पियन सागर र देशका अन्य भागमा जान्छन्।
स्वास्थ्य मन्त्रालयले संक्रमणबाट बच्न कतै यात्रा नगरी घरैमा बस्न आग्रह गरेको थियो। यसलाई बेवास्ता गर्दै नयाँ वर्षको घुमघाममा यति धेरै मानिसहरु निस्किए, राजधानी तेहरानको मुख्य सडकमा ट्राफिक जाम नै भएको थियो।
संक्रमण फैलिएपछि बल्ल पहलकदमी
कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि भने इरान सरकारले रोकथाम र नियन्त्रणका केही प्रयास अगाडि बढायो। राष्ट्रपति रूहानीले देशभरका सपिङ सेन्टर र बजारहरु १५ दिन बन्द गर्न आदेश दिएका थिए। औषधि र अत्यावश्यक उपभोग्य वस्तुका पसल सञ्चालनमा भने छुट दिइएको थियो।
प्रशासनले कोममा रहेको शिया मुस्लिमहरुको मस्जिदसहित देशभरका सबै प्रमुख धार्मिक स्थलहरु बन्द गरेको छ। कोममा रहेको धार्मिक स्थल बन्द नगर्दा सरकारको तीव्र आलोचना भएको थियो। कोम क्षेत्र कोरोनाभाइरस महामारीको केन्द्र हो।
इरानका पूर्व स्वास्थ्य मन्त्री मसुद पेजेशियनले कोममा शुरुकै दिनदेखि क्वारेन्टिन गर्नुपर्ने बताएका थिए। उनले भनेका थिए "यो रोग कुनै ठट्टा होइन, अहिलेको हल्काफुल्का कामले यसलाई नियन्त्रण गर्न सकिंदैन।"
नभन्दै अहिले इरानलाई यो विपद्को सामना गर्न मुश्किल परिरहेको छ। संक्रमण अनियन्त्रित देखिएका अन्य मुलुकहरुमा पनि इरानकै जस्तो पूर्वतयारी र रोकथामको कमजोर तयारीलाई कारण मानिएको छ।
सरकारले ढिलै भए पनि विद्यालय, विश्वविद्यालय र धार्मिक स्थललाई बन्द गर्नुका साथै सांस्कृतिक र धार्मिक समारोहमा प्रतिबन्ध लगाएको छ। यद्यपि पूर्णरुपमा बन्दाबन्दी (लकडाउन) अझै पनि गरिएको छैन।
राष्ट्रपति रूहानीले सार्वजनिक जीवन ठप्प भएपछि परिवार र कारोबारमा देखिएको दबाब कम गर्न आर्थिक कार्यक्रमको घोषणा गरेका छन्। जसमा स्वास्थ्य बिमा, कर र अन्य सेवाको बिल भुक्तानीको समय लम्ब्याउने जस्ता योजना छन्।
इरान सरकारले ३० लाख विपन्न व्यक्तिलाई आर्थिक सहायता दिने बताएको छ। अन्य ४० लाखलाई न्यूनतम ब्याजदरमा ऋण दिने योजना ल्याइने घोषणा गरिएको छ।
महामारीले थला पारेको जनजीवन र आर्थिक क्षेत्रलाई राहत दिने तयारी गरिए पनि इरानलाई यो विपद्ले थप कति क्षति पुर्याउने छ, त्यहाँका नेताको सुझबुझ र अग्रसरतामा निर्भर हुनेछ। - बिबिसी