समाचार विहीबार, चैत १३, २०७६

कोरोना महामारीः मृतक संख्या २१ हजार नाघ्यो 

हिमालखबर

कोरोना महामारीः मृतक संख्या २१ हजार नाघ्यो 
null
गएको डिसेम्बरबाट देखिएको कोरोना (कोभिड–१९) महामारीको संक्रमण विश्वका १९८ देशमा फैलिइसकेको छ । झण्डै दुई महीना चीन बाहेक अन्य केही देशमा मात्रै देखिएको कोरोना मार्चदेखि भने विश्वभर तीव्र गतिमा फैलिदै गएको छ । 
 
विशेषगरी कोरोनाको प्रकोप यूरोपेली मुलुकहरुमा बढी देखिएको छ । यूरोपेली मुलुक इटाली, स्पेन, फ्रान्स, स्वीजरल्याण्ड लगायत मुलुकमा महामारीले ठूलो संख्यामा मानिसले ज्यान गुमाइसकेका छन् । 
 
बिहीबारसम्म कोरोना महामारीको प्रकोपबाट मृत्यु हुनेको संख्या २१ हजार नाघिसकेको छ । त्यस मध्ये इटालीमा मात्रै सात हजार पाँच सय नागरिकको मृत्यु भएको छ । संक्रमित संख्याका हिसाबले इटाली चीन पछि दोस्रो हो । तीन हजार दुई सयको ज्यान गुमाएको चीनमा ८१ हजार संक्रमित भएका थिए । तर, चीनले यो महामारी नियन्त्रणमा लिइसकेको छ । 
 
इटालीमा भने हरेक दिन ठूलो संख्यामा संक्रमित देखिने गरेका छन् । बिहीबारसम्म इटालीमा ७४ हजार बढी संक्रमित भएका छन् । इटाली जस्तै अमेरिकामा पनि महामारी तीव्र गतिमा फैलिएको छ । कोरोना महामारीबाट एक हजार नागरिकको ज्यान लिएको अमेकारिमा ६८ हजार बढी संक्रमित भएका छन् । 
 
स्पेनमा ४९ हजार, जर्मनीमा ३७ हजार, इरानमा २७ हजार, फ्रान्समा २५ हजार र स्वीजरल्याण्डमा १० हजार संक्रमित देखिएका छन् । इटाली, स्पेन, चीन पछि इरानमा धेरै नागरिकले ज्यान गुमाएका छन् । इरानमा मृतक संख्या दुई हजार नाघेको छ ।
 
स्पेनमा बुधबार नै चीन भन्दा बढी मानिसको मृत्यु भएको थियो । स्पेनमा तीन हजार ६ सय नागरिकको महामारीबाट मृत्यु भएको छ । यो महामारीबाट विश्वभर गरी चार लाख ७१ हजार संक्रमित भएकोमा अहिलेसम्म एक लाख १४ हजार बिरामी मात्रै निको भएका छन् ।
 
 
 

प्रतिकृया दिनुहोस