मिस वर्ल्डकी मोर्लीलाई कोरोना संक्रमणको आशंका, आखिर कसले किन ढाँटिरहेको छ ?
आज १२ चैत मिस इण्डियाको अफिसियल ट्विटर ह्याण्डलबाट ‘फेमिना मिस इण्डिया २०१९’ सुमन रावले मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्लीको शीघ्र स्वास्थ्यसुधार कामना गरिएको ट्विट आयो ।
मोर्ली र मिस वल्र्डको आधिकारिक ट्विटर ह्याण्डललाई समेत मेन्सन गरिएको ट्विटमा मोर्लीलाई हालसालै कोभिड–१९ निदान भएको भनी उल्लेख गरिएको छ । यसले मोर्लीमा कोरोना भाइरसको संक्रमण भएको यसअघिको आशंकालाई बल दिएको छ ।
यसअघि लेखिका तथा विभिन्न सौन्दर्य प्रतियोगिताकी निर्णायक रहिसकेकी स्याली एन फसेटले पनि आफ्नो ट्वीटर ह्याण्डलबाट मोर्लीलाई दुई साताअघि कोरोना भाइरसको संक्रमण भएको बारेमा २१ मार्चमा जानकारी दिएकी थिइन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले पनि मोर्लीलाई कोरोना भाइरस संक्रमण भएको भन्ने भिडियो स्टोरी आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि २२–२३ फागुनमा काठमाडौं आएकी मोर्लीमा कोभीड–१९ पोजेटिभ देखिएको भन्ने समाचार हिमालखबरले प्रकाशित गरेको थियो । यद्यपि समाचारमा ‘२२ फागुन (५ मार्च) मा नेपाल आएर भोलिपल्ट फर्केकी मोर्ली यहाँ बसाईको क्रममा, ट्रान्जिटमा या गन्तव्य पुगिसकेपछि कोरोनाभाइरसबाट संक्रमित भएको भन्ने नखुलेको जनाइएको थियो ।
तर, यस्तो समाचार प्रकाशित भएलगत्तै मोर्लीको नेपाल आगमनसँग जोडिएका संस्था तथा व्यक्तिहरुले उनलाई संक्रमण भएको भन्ने समाचार असत्य रहेको दाबी गर्दै आएका छन् ।
मिस नेपालको आयोजक द हिडन ट्रेजरले गत १० चैतमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘मोर्लीलाई कोरोना भाइरसको संक्रमण नभएको’ भन्ने सन्देश मिस वल्र्डबाट प्राप्त भएको भन्दैं सार्वजनिक गरेको थियो ।
भ्रमण वर्षका संयोजक सुरज वैद्य स्वयंले पनि ट्वीटमार्फत आफ्नी श्रीमती रितुले मोर्लीसँग कुराकानी गरेको र उनले आफूमा उक्त फ्लुका संक्रमण नभएको बताएको भन्दैं मोर्लीकै भनिएको सन्देश पोष्ट गरेका थिए ।
द हिडन ट्रेजर र वैद्यले मोर्लीमा कोरोनाभाइरस संक्रमण नभएको भनी उद्धृत गरे पनि मोर्ली स्वयं वा मिस वल्र्डले भने आधिकारिक र सार्वजनिक रुपमा यसबारे केही बोलेको छैन ।
भ्रमण वर्ष संयोजक वैद्यले मोर्लीमा संक्रमण नदेखिएको तर स्याली एन फसेटको सूचना बाझिएपछि स्यालीलाई संक्रमण र स्रोतबारे प्रष्ट पार्न ट्वीटमार्फत नेपालबाट समेत आग्रह गरिएको थियो ।
जवाफमा स्यालीले अर्को ट्वीट गर्दै मोर्लीका अत्यन्त नजिकका मित्रलाई आफूलाई यसबारे बताएको भन्दैं आफ्नो सूचना आधिकारिक भएको दाबी गरेकी थिइन् ।
आखिर के हो तथ्य ? कसले लुकाइरहेको छ घातक सूचना ?
यता सुरज वैद्य भने मिस वल्र्डको आयोजकले आफूहरुलाई मोर्लीलाई कोरोना संक्रमण नभएको भनी औपचारिक रुपमा जवाफ दिएकाले पत्याएको बताउँछन । “मिस वल्र्डको आयोजकले झुटो बोल्छ भनेर कसरी अनुमान गर्ने ?” वैद्य भन्छन्, “त्यत्रो संस्थाले भनिसकेपछि विश्वास त गर्नुप¥यो नि !”
वैद्य विश्वव्यापी महामारी देख्दादेख्दै यसलाई आफूहरुले यसलाई ढाकछोप नगरेको र हलुका रुपमा नलिएको तर्क गर्छन् ।
वैद्यकै तर्कमा सहमत हुँदै पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पनि मोर्लीमा संक्रमण नभएको भन्दैं आफ्ना सामाजिक सञ्जालहरुमा पटकपटक पोष्ट गरेकी छन् ।
मिस वल्र्ड २०१९ टोनी एन सिंह तथा मिस वल्र्ड अर्गनाइजेशनका निर्देशक एवं छोरा स्टिभ डग्लससँगै नेपाल आएकी मोर्ली नेपालमा रहँदा नक्सालस्थित होटल मेरियटमा बसेकी थिइन् । उनको सम्मानमा पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रात्रिभोज आयोजना गरिएको थियो ।
मोर्लीले मिस नेपाल अनुष्का श्रेष्ठ, पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा, द हिडन टे«जरका अधिकारी तथा केही पत्रकारहरुसँगै सिन्धुपाल्चोकको हेलम्बु र मकवानपुरको कैलाश गाउँपालिकाको चेपाङ बस्तीको भ्रमण गरेकी थिइन् ।
तर, मोर्लीको शंकास्पद स्वास्थ्य अवस्थालाई ख्याल राख्दैं उनीसँग भेटेका कसैले पनि स्वास्थ्य जाँच गराएको कुरा अहिलेसम्म खुल्न आएको छैन ।