समाचार बुधबार, चैत १२, २०७६

सवा लाख क्वारेन्टाइन कक्ष बनाउने सरकारी तयारी, नगरकोटका होटल पनि प्रयोग गरिने

हिमालखबर

सवा लाख क्वारेन्टाइन कक्ष बनाउने सरकारी तयारी, नगरकोटका होटल पनि प्रयोग गरिने

कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरुलाई राख्न भक्तपुरको नगरकोटमा क्वारेन्टाइन कक्ष बनाइने भएको छ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक योगेश भट्टराईले नगरकोट पुगेर स्थानीय होटल व्यवसायी र सरोकारवाला निकायका प्रमुखहरुसँग क्वारेन्टाइन कक्ष निर्माणका लागि छलफल गरेका छन्।

मन्त्री भट्टराईले महामारीको संकट सामना गर्न सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक भएको बताए। मन्त्री भट्टराईसँगको छलफलपछि व्यवसायीहरूले होटललाई क्वारेन्टाइन स्थल निर्माणका लागि प्रयोग गर्न दिन तयार रहेको प्रतिबद्धता जनाएका छन्।

नगरकोटका होटलका करीब २ हजार कोठामध्ये पहिलो चरणमा ५ सय कोठालाई क्वारेन्टाइन कक्ष निर्माण गरिने भएको छ। यसका लागि होटल व्यवसायी, स्थानीय प्रशासन, चार वटै सुरक्षा निकायका प्रतिनिधि रहेको समिति बनाइएको छ।

मन्त्री भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको पनि निरीक्षण गरेका छन्। दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० बेड र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ।

यस्तै, पशुपति क्षेत्रमा रहेको धर्मशालामा ७० जनाको लागि क्वारेन्टाइन गर्न सक्ने गरी तयार पारिएको छ।

मंगलबार मन्त्री भट्टराईले ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको निरीक्षण गरेका थिए।

१ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन कक्ष निर्माणको तयारी भइरहेको बताएका छन् । उनका अनुसार, संघीय सरकारले ५ हजार, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ।

यस्तै, ७७ जिल्लामध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २/२ हजार क्वारेन्टाइन निर्माण गर्ने तयारी छ।

प्रतिकृया दिनुहोस