समाचार बुधबार, चैत १२, २०७६

विद्युत् खपत ह्वात्तै घटेपछि उत्पादन बन्द गर्नुपर्ने अवस्थामा प्राधिकरण

हिमालखबर

विद्युत् खपत  ह्वात्तै घटेपछि उत्पादन बन्द गर्नुपर्ने अवस्थामा प्राधिकरण

कोरोनाभाइरस महामारीको संक्रमणबाट बच्न बन्दाबन्दी (लकडाउन) घोषणा भएसँगै विद्युत्‌को माग पनि ह्वातै घटेको छ।

बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरू बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । मुख्य रुपमा कलकारखाना, होटल लगायतले बढी विद्युत खपत गर्छन् । अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले विद्युत्को माग घटेको हो।

बन्दाबन्दी सुरु हुनुभन्दा पहिले मुलुक भरको विद्युत्को उच्चतम माग (पिक डिमाण्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो।

मंगलबार राति विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्याह्‍न १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको छ । बन्दाबन्दी भन्दा पहिले विद्युत्‌को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार २ सय ९० मेगावाटमा सीमित भएको छ।

काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्‌को माग १ सय ४ मेगावाटबाट मध्याह्‍न १२ बजे १ सय ८२ मेगावाट पुगेको छ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग नाटकीय रुपमा घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

“उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि शुरु भइनसकेकाले विद्युत्को लोड ह्वातै घटेको हो” घिसिङले भने।

घिसिङले विद्युतको माग घटेकाले निर्धक्क भएर भान्छामा इण्डक्सन चुल्हो प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेका छन् । भान्छामा इण्डक्सन चुल्हो चलाउन प्रणालीमा पर्याप्त विद्युत् उपलब्ध भएको उनको भनाइ छ।

घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मत सम्भार गरी तत्काल सेवा सुचारु गराउन बन्दाबन्दीको बेला पनि कर्मचारीहरु चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताएका छन्।

विद्युत्‌को माग घटेसँगै भारतबाट आयात हुने बिजुलीको परिमाण पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङका अनुसार, अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइनेछ।

उनले राति विद्युत्‌को लोड घटेकाले प्राधिकरणका विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था रहेको बताए।

प्रतिकृया दिनुहोस