समाचार बुधबार, चैत १२, २०७६

अलपत्र परेकालाई कर्णाली सरकारले घर पुर्‍याइदिने, १११० मा फोन गर्नुस्

हिमालखबर

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) शुरु भएसँगै बाटोमा अलपत्र परेका आफ्नो प्रदेशका यात्रुलाई कर्णाली सरकारले उद्धार गर्ने भएको छ। त्यसका लागि प्रदेश सरकारले निःशूल्क हटलाइन सेवा शुरु गरेको छ।

अलपत्र यात्रुले हटलाइन १११० मा सम्पर्क गर्नुपर्नेछ। त्यसका लागि कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्ष राख्ने निर्णय गरेको छ।

घर फर्कँदै गर्दा बन्दाबन्दीले बाटोमा अलपत्र परिरहेका कर्णाली प्रदेश भित्रका नागरिकले यो सेवा पाउने सामाजिक विकास मन्त्री दल बहादुर रावलले जानकारी दिए। रोजगारीका लागि भारत गएका कर्णालीका अधिकाँश नागरिक फर्कने क्रममा बाटोमै अलपत्र परेको गुनासो आएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको उनले बताए।

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्नेछ। उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाईनमा राख्नु पर्नेलाई राख्ने र नपर्नेलाई गन्तव्यसम्म लगिदिनेछ।

प्रतिकृया दिनुहोस