थप समाचार मंगलबार, चैत ११, २०७६

साना बालबालिकालाई नपढाउने, खेलाउने

हिमालखबर

साना बालबालिकालाई नपढाउने, खेलाउने

–प्रेमनारायण भुसाल

बालबालिकालाई अभिभावकबाट भिन्न बसेर सिक्न सक्ने र आगामी दिनमा विद्यालय जान रहर बसाउने बनाउन प्रि–स्कूलमा भर्ना गर्ने चलन विकसित राष्ट्रदेखि नै शुरू भएको हो । त्यहाँ बालबालिकालाई दुई–तीन घण्टा मात्र राखेर खेल्ने, खाने र नाँच्ने–गाउने जस्ता गतिविधिमा संलग्न गराइन्छ ।

प्रि–स्कूलको लक्ष्य नै बालबालिकालाई स्कूल जान मानसिक रूपमा तयार पार्ने हो । स्याहारकर्ता उपलब्ध भएसम्म कम्तीमा पाँच वर्षसम्म बालबालिकालाई घरमै राखेर खेल्ने र कुराकानी गर्ने गर्दा बालबालिकाको मस्तिष्क विकास राम्रोसँग हुनेमा सबैजसो मनोविद्हरू सहमत देखिन्छन् ।

अमेरिका, जापान, अष्ट्रेलिया जस्ता विकसित देशले प्रि–स्कूलमा बच्चा राख्न अनिवार्य गरेका छैनन् । संसारकै उच्चस्तरीय शिक्षा प्रदान गर्ने फिनल्यान्डमा त सात वर्ष नपुगी बच्चालाई विद्यालय पठाउनै पाइँदैन । बच्चालाई बच्चा जस्तै गरेर हाँसीखुशी राख्दा नै उसको सर्वाङ्गीण विकास सम्भव हुन्छ भन्ने कुरा फिनल्यान्डको शिक्षाले प्रमाणित गरिसकेको छ ।

प्रि–स्कूलको हतारो

नेपालको सन्दर्भमा प्रि–स्कूल र स्कूलबीचको अन्तर स्पष्ट छैन । किनभने त्यहाँ गरिने स्याहारसुसार बाहेक अन्य सबै कुरा समान नै हुन्छन् । पहिले तीन वर्षमाथिका बालबालिकालाई मात्र प्रि–स्कूलमा भर्ना लिने गरिन्थ्यो ।

अहिले अठार महीनादेखिका बालबालिकालाई भर्ना गर्ने भनेर मन्टेश्वरी, युरोकिड्स लगायत शिक्षण विधिका ब्रान्डमा आकर्षक विज्ञापन गरिएका प्रि–स्कूल छ्यापछ्याप्ती छन् जहाँ नर्सरी, एलकेजी, युकेजी जस्ता तह निर्माण गरी पाठ्यपुस्तक घोकाएर पढाउने, परीक्षा लिने गरेको देखिन्छ । यसले बालमस्तिष्कको विकासमा अवरोध पैदा गर्छ ।

बालबालिकाको जन्मदेखि दुई वर्षसम्मको समय अति संवेदनशील अवस्था हो । यो उमेरमा बालबालिकाले आफ्ना सम्पूर्ण इन्द्रिय मार्फत वस्तु र जगतको सूचना ग्रहण गरी अवधारणा निर्माण गर्छन् । त्यसैले हरेक वस्तुलाई छुने, भेटेजतिका चिजबिज मुखमा हाल्ने अनि प्रयास र त्रुटि मार्फत संज्ञानको विकास गर्छन् ।

इन्द्रियबाट ग्रहण गरिएका सूचनाको प्रतिक्रियास्वरूप आङ्गिक गतिविधि देखाउन सिक्नु वा ‘सेन्सरीमोटर कोर्डिनेसन’ गर्नु यस चरणको मुख्य विशेषता हो । यसको विशेषता वस्तुको स्थायित्वबोध (अब्जेक्ट पर्मानेन्स) गर्नुमा हुन्छ ।

अमेरिका, जापान, अष्ट्रेलिया जस्ता विकसित देशले प्रि–स्कूलमा बच्चा राख्न अनिवार्य गरेका छैनन् । संसारकै उच्चस्तरीय शिक्षा प्रदान गर्ने फिनल्यान्डमा त सात वर्ष नपुगी बच्चालाई विद्यालय पठाउनै पाइँदैन । बच्चालाई बच्चा जस्तै गरेर हाँसीखुशी राख्दा नै उसको सर्वाङ्गीण विकास सम्भव हुन्छ भन्ने कुरा फिनल्यान्डको शिक्षाले प्रमाणित गरिसकेको छ ।

वस्तुको स्थायित्वबोध गरेका बच्चासँग लुकामारी खेल्ने, सानो भाँडाबाट ठूलो भाँडामा पानी भर्ने, हानि नगर्ने रङका माध्यमबाट हातखुट्टाको छाप बनाउने, बल उफार्ने, आवाज र बत्तीसहितको बल खेलाउने जस्ता गतिविधिमा सामेल गराउनुपर्छ ।

दुईदेखि चार वर्षसम्ममा बालबालिकाले अनुकरण र आफ्ना क्रियाकलापका माध्यमबाट धेरै कुरा सिकिसकेको हुन्छन् तर उसमा ‘इगो केन्द्रित’ व्यवहार रहने भएकाले केही काम वा कुराका लागि पर्खने क्षमताको विकास भएको हुँदैन ।

बच्चाले मागे भन्दा राम्रो वस्तु ‘केही बेरमा दिन्छु’ भन्दा सहमत गराउन कठिन हुन्छ । उनीहरूले जे देखे, सुने वा अनुभव गरे अरू सबैले त्यस्तै नै अनुभव गरेका छन् भन्ने ठान्छन् । अरूका दृष्टिबाट वस्तु, घटना र अवस्थालाई बुझ्ने क्षमता चार वर्षको उमेर पुगेपछि मात्र विस्तारै विकास हुन्छ ।

घरमै पाँच वर्ष

बालबालिका चार वर्षको उमेरसम्म एउटा वस्तु वा विषयलाई फरकफरक कोणबाट हेर्न सक्दैनन् । वस्तुप्रतिको दृष्टिकोण निर्माण नहुँदैको यस अवस्थामा पढ्न, लेख्न सिकाउनु बालबालिकाको स्वाभाविक वृद्धि र विकासमा बाधा पुर्‍याउनु हो ।

उनीहरूको संज्ञानात्मक विकासका लागि विभिन्न भूमिकामा खेल्न सिकाउने, स्वाद र गन्ध सम्बन्धी खेल खेलाउने, माटो, बालुवा वा अन्य यस्तै वस्तुमा विभिन्न आकृति बनाउन सिकाउने, काठ, ढुङ्गा वा अन्य ससाना खेलौनाका टुक्रालाई छुट्याउने र जोड्ने जस्ता गतिविधिमा संलग्न गराउनु लाभदायी देखिन्छ ।

यसैले सम्भव भएसम्म घरपरिवारमै र त्यसो गर्न नसकिए बालमैत्री वातावरणमा खेलेर सिकाउने प्रि–प्राइमरी स्कूलमा बच्चालाई सहभागी गराउनु ठीकै मानिन्छ । त्यस्ता स्कूलमा पाठ्यवस्तु पढाउने अनि ५–६ घण्टासम्म स्कूलमै छाड्ने गरेमा आर्थिक क्षति मात्र होइन, बालबालिकाको भविष्यमै नकारात्मक असर पर्न सक्छ ।

सानो उमेरमा जबर्जस्ती पढाएर बालबच्चा विद्वान् बन्दैनन् । बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यान दिई कम्तीमा पाँच वर्षसम्म घरपरिवार र प्रकृतिबाट सिक्न दिनुपर्छ । यसो गरिनुले व्यक्तित्व, मस्तिष्कको विकास र संवेगात्मक परिपक्वताका दृष्टिले समेत उपयुक्त हुन्छ ।

(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन् ।)

प्रतिकृया दिनुहोस