कला/साहित्य मंगलबार, चैत ११, २०७६

मध्यपहाडको मर्म

हिमालखबर

मध्यपहाडको मर्म

पुस्तक: चिवाभन्ज्याङ झुलाघाट मध्यपहाड यात्रा, लेखक: गंगा श्रेष्ठ, प्रकाशक: सांग्रिला बुक्स, पृष्ठ: २१९, मूल्य: रु.३७५

दुई वर्षअघि यसै वेला पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तत्कालीन नयाँ शक्ति पार्टीको एक महीना लामो ‘जनसंवाद यात्रा’ भर्खरै सकेर विश्राम लिइरहेका थिए । माघको दोस्रो सातादेखि फागुनको दोस्रो सातासम्मको उनको यो यात्रा पाँचथरको चिवाभन्ज्याङबाट शुरु भएर बैतडीको झुलाघाटमा सकिएको थियो । उनको यही यात्रालाई समेटेर तयार पारिएको पुस्तक हो– चिवाभन्ज्याङ झुलाघाट मध्यपहाड यात्रा । लेखक हुन्, गंगा श्रेष्ठ, जो यात्रामा भट्टराई सँगै थिए ।

यात्रा डायरीकै शैलीमा प्रस्तुत पुस्तकमा चिवाभन्ज्याङदेखि झुलाघाट जोड्ने मध्यपहाडी राजमार्ग (पुष्पलाल राजमार्ग) का २८ जिल्लाको १ हजार ८७९ कि.मी. यात्राको तयारी, व्यवस्थापन तथा कार्यान्वयनका क्रममा देखे/भोगेका अनुभव समेटिएको छ । १४४ वटा कार्यक्रम गरिएको जनसंवाद यात्राका क्रममा टोलीले पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडवासी तराईतिर बसाइँ सरेकाले गाउँको जग्गा बाँझो, उजाड देख्छ ।

लेखक श्रेष्ठले गाउँ रित्तिने र शहर भरिने उपक्रमले गाउँ र शहरबीच मनोवैज्ञानिक दरार उत्पन्न भएको, न्यूनतम सेवासुविधा प्राप्तिमा असमानता देखिएको उल्लेख गरेका छन् । यद्यपि सिन्धुली जिल्लामा पछिल्लो दशकमा निर्माण भएका बीपी, पुष्पलाल तथा मदन भण्डारी राजमार्ग सिर्जित विकासको अवसरले अनियन्त्रित बसाइसराइँमा कमी ल्याउने लेखकको दाबी छ ।

मध्यपहाड यात्रामा लेखकले देखेको अर्को विकराल समस्या हो– पानीको संकट । तेह्रथुमको संक्रान्ति, पोक्लावाङ, भोजपुरको जरायोटार, प्याउली, पौवादुङ्मा, खोटाङको हलेसी, सिन्धुली होस् वा रामेछापको मन्थली, धादिङको सल्यानटार, गोरखाको पालुङटार, रुकुमको चौरजहारी, बैतडीको पाटन सबैमा उही समस्या देखिन्छ । तर, लेखकको भनाइमा यो संकटको कारण पानीको स्रोतको कमी नभई अव्यवस्थित प्रयोग हो ।

हुन पनि अरुण, दुधकोशी, सुनकोशी, तामाकोशी, बूढीगण्डकी, मस्र्याङ्दी, भेरी जस्ता नदी यिनै भूगोलको पुछार भएर बग्छन्, तर तटीय क्षेत्रका बस्तीहरू काकाकुल छन्, सिंचाइ अभावका कारण खेतबारी सुक्खा भेटिन्छन् ।

यात्रामा टोलीले स्थानीयको समस्यालाई नजिकबाट नियाल्यो । भोजपुरको टेम्केमैयुङमा सुन्तला पकेट क्षेत्र बनाउने, (जरायोटारमा खानेपानी आयोजना तथा सडक निर्माण), संखुवासभाको मकालु गाउँपालिकामा बाँदर आतंक नियन्त्रण गर्ने, धनकुटाको सिधुवामा कृषिमा अनुदान, कृषकका समस्या (उच्चस्तरको मल, बीउ, प्रविधि, बाली बीमा, सरकारी अनुदानमा वृद्धि) तथा बजारको सुनिश्चितता, सिन्धुली खुर्कोटमा राजगुठीको समस्या, काभ्रेको पाँचखालमा तरकारी पकेट क्षेत्र बनाउने, रुकुम र जाजरकोट जोड्न भेरी नदीमा पुलको आवश्यकता रहेको स्थानीयको माग थियो ।

यस्ता सामान्य समस्या समेत स्थानीय सरकारले समाधान गर्न नसक्नुमा लेखक संघीय सरकारलाई दोष दिन्छन् ।

मध्यपहाडी राजमार्ग निर्माण क्रममा भएको अनावश्यक ‘राजनीति’ लाई पनि लेखकले औंल्याएका छन् । राजमार्गलाई आफ्नो गाउँसम्म बाटो पुर्‍याउने स्थानीय नेताहरूको स्वार्थले भोजपुर–खोटाङ सडकखण्ड करीब ५५ किमी अनावश्यक घुमाएकोमा कटाक्ष गर्दै ‘लोकमार्ग कसैको घर–आँगनमा सडक पुर्‍याउन निर्माण गरिंदैन’ भन्ने लेखक सिन्धुली आइपुग्नेवित्तिकै बदलिन्छन् । सिन्धुलीमा उनी गर्व गर्दै भन्छन्, “म विधायक र हिसिला यमी भौतिक योजना मन्त्री नभएको भए यो बाटो रामेछापबाट जान्थ्यो ।” सिन्धुली लेखकको गृह–जिल्ला हो ।

माओवादी सशस्त्र हिंसाको पृष्ठभूमिबाट आएका राजनीतिज्ञ श्रेष्ठका यस्ता वैचारिक विरोधाभास पुस्तकका ठाउँठाउँमा भेटिन्छ । एक प्रसंगमा उनी द्वन्द्वकालमा ‘भनेजति चन्दा नदिएका’ कारण काभ्रेका कामरेडहरूले बनेपा– बर्दिवास बीपी राजमार्ग निर्माणमा अवरोध गरे तापनि आफूले सिन्धुलीमा भने त्यस्तो अवस्था आउन नदिएको दाबी गर्छन् । 

वामपन्थी बहुल सिन्धुलीको च्याकुटारबाट आफूलाई २०७० सालको संविधानसभा निर्वाचनमा ‘एकछापे भोट’ आएको विगत सम्झँदै रोमाञ्चित हुने लेखक सोही जिल्लाकै ग्वालटार र देउरालीटारको प्रसंगमा भने एकछापे प्रवृत्तिलाई ‘छेपारोले धुरीखाबो समाए झैं आ–आफ्नो खाबो समात्ने’ भन्छन् ।

पुस्तकमा पूर्वदेखि पश्चिमसम्म नै पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक भट्टराईमाथि राजनीतिक प्रश्नको वर्षा भएको बुझ्न सकिन्छ । समयाभावका कारण धेरै ठाउँका पेचिला र खरा प्रश्नको जवाफ दिन नसकेको र कतिपय जटिल प्रश्नको सामना गर्न नेता भट्टराईलाई बडो कठिन भएको स्वीकार पनि लेखकले गरेका छन् ।

गोरखा, पालुङटार आफ्नै गाउँ पुगेका भट्टराईलाई  ‘राजनीतिक रुपमा अस्थिर भएको’, ‘जनतालाई धोका दिएको’ जस्ता आरोप लागे । संविधान जारी नगरी पहिलो संविधानसभा विघटित हुनुलाई ‘भुईंको टिप्न खोज्दा, गोजीको समेत झरेको’ अर्थमा टिप्पणी गर्दै लेखक उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री समेत रहेका भट्टराई नभई तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै जिम्मेवार भएको दोहोर्‍याउँछन् । उनी वफादार कार्यकर्ताका हिसाबले लेखक भट्टराईमाथि आक्षेप त परै जाओस् आलोचनासम्म गर्दैनन्, बरु ठाउँ–ठाउँ देवत्वकरण गरेको छनक मिल्छ ।

एक वर्षअघिदेखि भट्टराई एकीकरणपश्चातको समाजवादी नेपाल पार्टीका संघीय परिषद् अध्यक्ष छन् र लेखक श्रेष्ठ त्यो पार्टीका महासचिव । लेखकको राजनीतिक पक्षधरतामा आधारित विश्लेषणले सबैका लागि उति महत्व नराख्न सक्छ । तर, मध्यपहाडी जिल्लाको जनजीवन, विकास, जातीय, क्षेत्रीय, सांस्कृतिक विविधता, स्थानीय सरकारका चुनौतीबारे जानकारी अद्यावधिक गर्न पुस्तकले अवश्य नै सघाउ पुर्‍याउँछ । 

गेहनाथ खनाल

प्रतिकृया दिनुहोस